logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • आकर्षक विम्ब र प्रतीकमार्फत भनिएको महिला विद्रोहको कथा ‘बहाव’

    आकर्षक विम्ब र प्रतीकमार्फत भनिएको महिला विद्रोहको कथा ‘बहाव’

    3.2K
    Shares
    आकर्षक विम्ब र प्रतीकमार्फत भनिएको महिला विद्रोहको कथा ‘बहाव’

    काठमाडौँ । ‘बहाव’ कथा हो संन्ध्या रेग्मी अर्थात् सुरक्षा पन्तले छनौट गर्ने बाटोको । फिल्म भित्र सन्ध्याले जुन बाटो छान्छे त्यो नेपाली सिनेमाका लागि बिल्कुलै नयाँ कुरा हो । किनकि पितृसत्तात्मक समाजमा महिलालाई आफ्नो बाटो हिँड्ने अधिकारसमेत छैन । नेपाली साहित्यमा ‘तीन घुम्ती’, ‘अनुराधा’, ‘मसान’ जस्ता केही कृतिहरू छन् जसले नेपाली महिलाको यो अवस्थालाई चित्रित गर्छन् र उपन्यास तथा नाटकका पात्रहरूले पुरुषको सत्ताविरुद्ध विद्रोह गर्छन् । नेपाली सिनेमामा लगभग यो पहिलो फिल्म हो जसले सचेतताका साथ ‘पित्तृसत्तात्मक’ सोच र त्यो विरुद्ध महिलाले गरेको विद्रोहलाई सुन्दर तरिकाले पर्दामा उतारेको छ ।

    सन्ध्या चितवनको वीरेन्द्रनगरमा माइक्रोबायोलोजीको विद्यार्थी हो । उसको कलेजमा आफूसँगै पढ्ने समीर (पवन श्रेष्ठ) सँग मायाप्रीति छ । तर आम परिवारझैँ उसको परिवार भने सन्ध्यालाई कुनै एनआरआईको जिम्मा लगाएर उसको सुखी जीवनको कल्पना गरेर बसेको छ । यही फरक सोचका बीच सन्ध्यालाई माग्न एउटा अमेरिकामा बसेको युवक आउँछ र पालैसँग सन्ध्याका जीवनका रहस्य खुल्छन् । जब सन्ध्याले आफू कसैसँग प्रेममा रहेको र उसैसँग जीवन बिताउने कल्पना गरेको रहस्य खोल्छे, महिला भर्सेज पितृसत्ताको द्वन्द्व सुरु हुन्छ ।

    युवा युवतीको प्रेममा परिवार बाधक बन्ने कुरामा संसारभर हजारौँ सिनेमा बनेका छन् । प्रमोद कँडेल लिखित तथा निर्देशित ‘बहाव’को एकसरो कथा पनि यही नै हो । तर यही कथालाई प्रमोदले दृश्य–अदृश्य विम्ब र महिलाको स्व निर्णय अधिकारको वैचारिकीसँग घोलेर प्रस्तुत गरेका छन् । पहिलो फिल्ममै समाज, विचार, दर्शन, मनोविज्ञान र मनोरञ्जन यसरी एकसाथ प्रस्तुत गर्न सक्नु निर्देशक प्रमोदको खुबी हो । यो खुबीका लागि प्रमोद धापका हकदार छन् ।

    कथासँग निर्देशक प्रमोदले दृश्य भाषाबाट पनि नेपाली सिनेमाका लागि नयाँ प्रयोग गरेका छन् । सन्ध्याको परिवार वर्ग नमिल्ने प्रेमीको रहस्योद्घाटनसँगै उथलपुथल हुन्छ । त्यसैले पर्दाभित्र सिनेमाका दृश्य पनि संगतिमा देखिन्नन् । जसरी हिजोसम्म मिलेर बसेको परिवारलाई एकअर्काको साथ असहज भएको छ, दर्शकलाई छायाँकारले असहज बनाएका छन् । क्यामराका फ्रेम विवादका समयमा मज्जाल हल्लिन्छ । यो सन्ध्याको परिवारको जीवनमा आएको हलचल छ । यसैगरी फिल्म भित्रका चरित्रले ‘लेफ्ट’ र ‘राइट’ विचारधाराको प्रतिनिधित्व गर्छन् । ‘लेफ्ट’ अर्थात् क्रान्तिकारी र ‘राइट’मतलब यथास्थितिवादी । निर्देशक र छायाँकार मिलेर क्यामरामार्फत पनि यथास्थिति र क्रान्तिकारीको जीवन दर्शनलाई स्थापित गरेका छन् । नयाँ विचारको पक्षमा रहेकी सन्ध्यालाई कहिलै पनि बायाँतिर बसेको देख्न सकिन्न । उता सन्ध्याको पिता (कमलमणि नेपाल) कहिलै दायाँतिर बस्दैनन् । तर कहिलेकाहिँ क्यामरा हल्लिने क्रम अलि बढि नै भएको पनि महसुस हुन्छ । यसले दर्शकलाई थप असहज महसुस हुनसक्छ । तर यसलाई निर्देशकको सोचसँग सामञ्जस्य गरेर हेर्ने हो भने चाहिँ उति विघ्न बिझाउँदैन ।

    प्राविधिक पक्षको कुरा गर्दा छायाँकनपछि यो फिल्मको संगीत पक्ष पनि तारिफ लायक छ । यो फिल्ममा निर्देशकले सिंक साउन्डको प्रयोग गरेका छन् । यो प्रयोग आफैँमा नेपाल जस्तो सम्झौता गरेर लोकेसन खिच्नपर्ने अवस्थाका लागि जटिल काम हो । तर सम्राट खनालले यो प्रक्रियामा जित हासिल गरेका छन् । पर्दापछाडि गुञ्जन संगीतले दृश्यको भावलाई उठाउन मद्दत गरेका छन् जुन नेपाली सिनेमामा विरलै महसुस गर्न पाइन्छ । चर्को पाश्र्व संगीत राखेर दर्शकलाई विरक्त्याउने समस्या यो फिल्ममा छैन ।

    ‘बहाव’ चरित्र प्रधान सिनेमा हो । यसका चरित्र जताजता जान्छन् फिल्मको कथा त्यतैत्यतै जान्छ । यस हिसाबले कलाकार यो फिल्मका महत्वपूर्ण हिस्सा हुन् । फिल्ममा कलाकार धेरै छैनन् । चाहिने छन् र चाहिने अभिनय गरेका छन् । तर पनि कथाको केन्द्रमा सुरक्षा पन्त छिन् जसले चञ्चले प्रेमीदेखि विद्रोही युवतीसम्मको अभिनय सक्षमतापूर्वक प्रसारण गरेकी छिन् । समग्रमा सुरक्षाको चरित्र कम्प्लेक्स छ । उनको मनमा एक साथ अनेक विचार खेलिरहेका छन् । पर्दामा उनले यो अवस्थालाई सकुशल चित्रण गरेकी छिन् । चरित्रले गर्ने गतिविधिमा निरपेक्ष रहनुपर्ने पनि नेपाली फिल्मको समस्या हो । तर सुरक्षाको चरित्रले आफूसँगै दर्शकलाई यात्रामा हिँडाउन सफल भएको छ । योबाहेक सुरक्षाको बाबु बनेका कमलमणि नेपाल, काका बनेका सूर्यनाथ भट्ट र भाइ बनेका इरफान अली सबैले राम्रो अभिनय गरेका छन् । भाइ बनेका इरफानको अभिनय थप राम्रो भएको भए, फिल्म थप खँदिलो हुन्थ्यो तर पनि इरफान एकदमै बिझाएका भने छैनन् ।

    निर्देशक प्रमोद कँडेलले कथा प्रस्तुत गर्ने क्रममा प्रशस्त विम्बहरूको प्रयोग गरेका छन् । उनले प्रयोग गरेका विम्बमा सुँगालाई प्राथमिकताका साथ देखाइएको छ । फिल्मको सुरुवात पिँजडाको सुगाबाट भएको छ र अन्त्य पनि । तर यसमा निर्देशकले अन्त्यमा देखाएको दृश्य व्याख्यालायक छ । सिनेमाको अन्त्यमा काका बनेका सूर्यनाथले पिँजडाको ढोका खोलेका छन् तर निर्देशकले पिँजडा उडेको देखाएका छैनन् । यसबाट उडान भर्ने नभर्ने सुँगाको रोजाइ हो तर कमसेकम कसैलाई पिँजडामा कैद बनाउनु हुन्न भन्ने सन्देश प्रवाह गर्न खोजेको अर्थमा लिन सकिन्छ । त्यसैगरी हरियो रङ, रातो रङ, क्याक्टस र कोठाको लाइटिङ आदिमार्फत पनि निर्देशकले कथा वाचन गर्ने प्रयास गरेका छन् । सिनेमाको अन्त्यमा सन्ध्या चढेको नाउले उल्टो बग्दै अगाडि बढेको छ । यसले सुरक्षाको चरित्रले नयाँ यात्रा गर्न चाहेको अलि अगाडिको दृश्यलाई सार्थक बनाएको छ । केही अगाडिको दृश्यमा सुरक्षाले प्रेमीलाई पनि साथ दिन नसक्ने जवाफ दिँदै आफू नयाँ सपनाको खोजीमा लागेको संकेत दिएकी छिन् । फिल्ममा कार्ल माक्र्सको ‘दि कम्युनिस्ट मेनिफेस्टो’, चैतन्य मिश्रको ‘लोकतन्त्र र समाजवाद’ किताब र चे ग्वेभाराको पोस्टरद्धारा पनि चरित्रको मनोभावलाई व्यक्त गर्ने प्रयास गरिएको छ जुन नेपाली फिल्मको सन्दर्भमा नदेखिएको प्रयोग हो ।

    झिनो कथालाई रोचक तरिकाले प्रस्तुत गर्न सक्नु निर्देशकको खुबी हो । सानो परिवारको झगडालाई उनले राजनीतिक, वैचारिक र दर्शनको रङ दिएर महत्वपूर्ण बनाएका छन् । यस हिसाबले यो फिल्मले, फिल्ममा मनोरञ्जन मात्र नखोजेर सार्थक मनोरञ्जन पनि खोज्नेका लागि आँत भर्ने सामाथ्र्य राख्छ । हैन मलाई पौने दुई घन्टा ‘बोर’ नभए हुन्छ भन्ठान्नु हुन्छ भने यो फिल्मले यो मामलामा पनि हामीलाई निराश बनाउँदैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend