कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोह आज विश्वविद्यालयको केन्द्रीय कार्यालय कञ्चनपुरमा आयोजना गरिएको छ । कञ्चनपुरमा सुदूरपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल यहाँ आइपुगेका विश्वविद्यालयले जानकारी दिएको छ । असारमा दोस्रो दीक्षान्त गरेको विश्वविद्यालयले एक वर्षमै दोस्रो पटक विद्यार्थीलाई दीक्षित गर्न लागेको हो।
परीक्षा नियन्त्रण कार्यालयले आह्वान गरेको समयभित्र थोरै मात्र विद्यार्थीले आवेदन दिएको विश्वविद्यालयका रजिस्ट्रार यज्ञराज पाठकले बताए। उनका अनुसार पुससम्म ट्रान्सक्रिप्ट निकालेका र आवेदन दिएका विद्यार्थी मात्रै दीक्षित हुन पाउँछन्। असारमा पनि १५ सय २३ जनामध्ये २५३ ले मात्रै दीक्षितका लागि आवेदन दिएका थिए।
वि.सं.२०६८ मा स्थापना भएको विश्वविद्यालयले २०७१ देखि शैक्षिक कार्यक्रमहरू अघि बढाएको हो। पहिलो पटक २०७४ मा दीक्षान्त समारोह आयोजना गरेको विश्वविद्यालयले कोरोना संक्रमणलगायत कारणले ५ वर्षपछि असारमा दोस्रो पटक विद्यार्थीलाई दीक्षित गरेको थियो। स्नातक र स्नातकोत्तर तहमा ८५५ विद्यार्थीले तह पास गरे पनि १७९ ले मात्रै दीक्षित हुनका लागि आवेदन दिएका छन्।
विश्वविद्यालयले पठनपाठन सुरु भएको ४ वर्षपछि २०७४ मा पहिलो पटक आयोजना गरेको दीक्षान्त समारोहमा पनि निकै कम विद्यार्थी सहभागी थिए। त्यतिबेला १०४ जना मात्रै दीक्षित भएका थिए। विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले आजै विद्यार्थीलाई दीक्षित गर्नेछन्। प्रमुख अतिथि भारत उत्तर प्रदेशको महात्मा ज्योतिबाफुले रुहेलखण्ड विश्वविद्यालयका उपकुलपति केपी सिंह रहनेछन्।
केन्द्रीय र आंगिक गरी १६ क्याम्पसमा करिब १५ हजार विद्यार्थी विश्वविद्यालमा अध्ययनरत छन्। विश्वविद्यालयले इन्जिनियरिङसँगै कृषि, कानुनलगायतका विषयमा समेत अध्यापन गराउँदै आएको छ। डडेलधुरामा मेडिकल कलेज सञ्चालनका लागि पनि डिन नियुक्तिसँगै भौतिक पूर्वाधार निर्माणको प्रक्रिया अघि बढाएको छ।
सेमेस्टर प्रणालीमा पठनपाठन सञ्चालन गरिरहेको विश्वविद्यालयले वन विज्ञान पढाउने तयारी पनि गरिरहेको छ। विश्वविद्यालयले तीन महिनाअघि मात्रै अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो।