लाहोर । पाकिस्तान भ्रमणमा रहेको न्युजिल्यान्डले पहिलो ट्वान्टी २० अन्तर्राष्ट्रिय खेलमा पराजित भएको छ । शुक्रबार राति घरेलु टिमविरुद्ध खेलमा ८८ रनको पराजित भएको हो। करिब एक महिना लामो भ्रमणमा रहेको न्युजिल्यान्डले पाँच खेलको ट्वान्टी २० अन्तर्राष्ट्रिय शृंखलापछि एक दिवसीय अन्तर्राष्ट्रिय पनि खेल्ने छ।
एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला पनि पाँच खेलको हुनेछ। आज लाहोरस्थित गद्दाफी क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले १९.५ ओभरमा सबै विकेट गुमाएर एक सय ८३ रनको योगफल पछ्याएको थियो।
दोस्रो हाफमा एक सय ८३ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १५.३ ओभरमा सबै विकेट गुमाउनुअघि ९४ रन मात्रै बनाउन सक्यो।
न्युजिल्यान्डका लागि माक्क च्याम्पम्यानले ३४ तथा कप्तान टम लथामले २० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्।
पाकिस्तानका लागि ह्यारिस रौफले ३.३ ओभरमा १८ रन खर्चिएर सर्वाधिक चार विकेट लिए। इमाद वासिमले दुई विकेट लिँदा अन्य चार बलरले एक–एक विकेट लिएका थिए।
पाकिस्तानका लागि फकर रहमान र सैम आयुबले ४७/४७ तथा फशिम अस्रफले २२ रनको योगदान गरेका थिए।
न्युजिल्यान्डका लागि म्याट हेनरीले सर्वाधिक तीन तथा आडम मिल्न र बेन लिस्टरले दुई(दुई विकेट लिए। अन्य दुई बलर इश सोधी जेम्स निशमले एक(एक पाकिस्तानी बलरलाई पभिलियन फर्काएका थिए।
इन्डियन प्रिमियर लिग (आईपीएल) को उद्घाटन खेलमा घुँडामा लागेको चोटका कारण नियमित कप्तान केन विलियमसन बिनानै न्युजिल्यान्डको टिम पाकिस्तान पुगेको थियो।
उनको अनुपस्थितिमा न्यजिल्यान्डको नेतृत्व टम लथामले गरेका छन्। बाबर आजमको कप्तानीमा घरेलु मैदानमा उत्रिएको पाकिस्तानले शृंखलामा १-० को अग्रता बनाएको छ।
सुरआती तीन ट्वान्टी २० अन्तर्राष्ट्रिय लाहोरमै हुनेछन्। त्यसपछिका दुई अर्थात् चौथो र पाँचौं खेल रावलपिन्डीमा हुनेछन्।