बिहिबार, फाल्गुन १५ २०८१

बिहिबार, फाल्गुन १५ २०८१

उद्योग वाणिज्य संघ चितवन परिसरमा आजदेखि महिला उद्यमी मेला–२०७६ सुरु, पुस ७ गते सम्म सञ्चालन हुने

उद्योग वाणिज्य संघ चितवन परिसरमा आजदेखि महिला उद्यमी मेला–२०७६ सुरु, पुस ७ गते सम्म सञ्चालन हुने

चितवन, पुस ५-

उद्योग वाणिज्य संघ चितवन परिसरमा आजदेखि महिला उद्यमी मेला–२०७६ सुरु भएको छ । उद्योग वाणिज्य संघ–चितवनको आयोजना र महिला उद्यमी विकास समिति चितवनको सक्रियतामा आयोजित मेलाको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा महानगरपालिकाका प्रमुख दाहालले वर्तमान अवस्थामा गाउँपालिकादेखि राष्ट्र प्रमुखसम्म महिला भएकोले हरेक महिलाले आफ्नो भूमिका सशक्त बनाउँदै जानुपर्ने बताइन् । उनले अधिकार र सहभागिताको हिसाबले महिला अग्र स्थानमा पुगेर अधिकार सम्पन्न हुँदै गए पनि आर्थिकरुपमा सम्पन्न हुन नसकेकोले उद्यमशिलता तर्फ उन्मुख हुन अनुरोध गरिन् ।
त्यस्तै कार्यक्रममा प्रमुख दाहालले महानगरपालिकाले पनि मेयरसँग महिला जस्ता कार्यक्रम सञ्चालन गर्दै महिलालाई प्राथमिकतामा राखेको जानकारी दिइन् ।

कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले उवासंघ–चितवनले महिला उद्यमशिलता विकासमा निरन्तर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताए । उनले महिला उद्यमीलाई उद्यमशिलता तर्फ उन्मुख गराउँदै लैजादा महिलाले उत्पादन गरेका उत्पादनहरुको आवश्यक बजार पहिचान गरी बिक्रीवितरण गर्न नसकेमा सफलता हासिल नहुने बताउँदै यस किसिमका कार्यक्रमले महिलालाई आर्थिक रुपमा सबल बनाउन मद्दत पुग्ने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख मुनाकुमारी श्रेष्ठ, नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य डा. तिलचन्द्र भट्टराई , नेउवामहासंघ प्रदेश नं. ३ का उपाध्यक्ष राजन गौतम, महिला उद्यमीद्वय रजनी मास्के र योगिता पियाले शुभकामना मन्तव्य राखेका थिए । पुस ७ गते सम्म सञ्चालन हुने उक्त मेलामा घरेलु, साना उद्योग, लघु उद्योग एवम् हस्तकलाका ३५ वटा स्टल रहेका छन् । महिला उद्यमशिलताको विकास, महिला सशक्तिकरण र आर्थिक निकास भन्ने मूल नाराका साथ उद्योग वाणिज्य संघ–चितवन, महिला उद्यमी विकास समितिको आयोजनामा मेला सञ्चालन गरिएको हो । उक्त मेलालाई उद्योग , पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नं. ३ को सहकार्य, भरतपुर महानगरपालिका कार्यालय प्रवद्र्धकको रुपमा रहेको संघका कार्यक्रम अधिकृत निलबहादुर केसीले जानकारी दिए ।

ताजा अपडेट
धेरै पढिएको
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend