
पौष १० काठमाडौं सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा सरकारले विश्वासको मत लिन आवश्यक नपर्ने बताएका छन्। यदि प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिनै परेपनि आफूहरूका लागि कुनै महाभारत नभएको बताएका छन् बास्कोटाको भनाइ थियो।
आज (बिहीबार) आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिले सरकार छाडेको दल सरकारमा आउनुअगावै प्रधानमन्त्री निर्वाचित भइसकेकाले संविधानको उक्त प्रावधान आकर्षित हुने/नहुने कानूनका जानकारहरूले नै निर्क्यौल गर्ने बताए।
सरकारसँग स्पष्ट बहुमत यथावत रहेका कारण समाजवादी पार्टीले समर्थन फिर्ता लिँदैमा विश्वासको मत लिन आवश्यक नपर्ने उनको जिकिर थियो।
सत्ता साझेदार समाजवादी पार्टीले सरकार छोडेपछि प्रधानमन्त्रीले विश्वासको मत लिन आवश्यक पर्ने नपर्ने भन्ने बिषयले चर्चा बटुलेको छ।
नेपालको संविधानमा भने सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ। संविधानको धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend