logo

२०८१ मंसिर २२ शनिबार

logo
  • शनिबार, २२ मंसिर २०८१
  • पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

    पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

    1.6K
    Shares
    पोर्चुगलमा मनाइयो बुद्ध जयन्ती

    काठमाडौँ । २५६७औँ बुद्ध जयन्तीका अवसरमा पोर्चुगलको राजधानी लिस्बनमा बृहत् शोभायात्रा निकालिएको छ । लिस्बनस्थित अवैतनिक नेपाली महावाणिज्य दूतावासको संयोजन तथा पोर्चुगलमा रहेका नेपाली सङ्घसंस्थाको सक्रियतामा शुक्रबार लिस्बन सहरमा बृहत् शोभायात्रा निकालिएको हो ।

    बुद्धका तस्बिर, बुद्ध नेपालमा जन्मेका हुन् लिखित ब्यानर, बुद्ध उपदेश लिखित प्लेकार्ड, नेपालको राष्ट्रिय झन्डा र सांस्कृतिक वेषभूषासहितको शोभायात्राका सहभागीले राजधानीका मुख्य पर्यटकीय क्षेत्रको परिक्रमा गरेका थिए । शोभायात्रामा बुद्धम् शरणम् गच्छामी, धम्मम् शरणम् गच्छामी वाचन गर्दै बुद्ध ध्वनिसमेत गुञ्जाइएको थियो ।

    रोसियोस्थित प्रासा दि कमर्सियोबाट सुरु भएको शोभायात्रामा पोर्चुगलमा रहेका नेपाली समुदाय, बौद्ध धर्मगुरु स्वदेशी तथा विदेशी बौद्ध अनुयायीको सहभागिता थियो ।

    शोभायात्रापछि मार्तिम मुनिजमा आयोजित कोणसभामा पोर्चुगलका बौद्ध धर्मगुरु गिर्मे लामाले बुद्ध र बुद्धका ज्ञान, दर्शन र उपदेशका विषयमा संक्षिप्त प्रवचनसमेत दिएका थिए।

    सो अवसरमा बुद्ध जयन्ती मूल समारोह समितिका संयोजक एवं पोर्चुगलका लागि अवैतनिक नेपाली महावाणिज्यदूत मकरबहादुर हमालले शोभायात्रामा सहभागीलाई धन्यवाद दिँदै बुुद्धको प्रेरणादायी ज्ञान र उपदेशको अनुशरण गर्नुपर्ने बताए ।

    कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलका अध्यक्ष हेम गुरुङ, महावाणिज्यदूतावासका छविलाल बगालेलगायतले शुभकामना मन्तव्य दिएका थिए । यसअघि शेर्पा किदुग पोर्चुगलको संयोजनमा आन्जुसमा पोर्चुगल तथा नेपाली धर्मगुरुद्वारा भगवान् बुद्धको विशेष पूजापाठसमेत गरिएको थियो ।

    विदेशी भूमिमा बुद्ध र बुद्धभूमि नेपालको प्रचार–प्रसार गर्ने उद्देश्यका साथ विगतका वर्षमा जस्तै यस वर्ष पनि विशेष कार्यक्रमका साथ बुद्ध जयन्ती मनाइएको महावाणिज्यदूत हमालले बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend