logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभामा सांसद्हरुका प्रश्नहरुको जवाफ दिने तयारी

    प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभामा सांसद्हरुका प्रश्नहरुको जवाफ दिने तयारी

    1K
    Shares
    प्रधानमन्त्रीले जेठ ४ गते प्रतिनिधिसभामा सांसद्हरुका प्रश्नहरुको जवाफ दिने तयारी

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ ।

    आईतवार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रधानमन्त्रीले प्रतिनिधि सभा बैठकमा गर्ने प्रश्नोत्तरको सम्बन्धमा छलफल भएको हो ।

    बैठकपछि नेकपा(एमाले)का प्रमुख सचेतक पदम गिरीले जेठ ४ गते को बैठकमा प्रधानमन्त्री प्रश्नोत्तरमा सहभागी हुने तयारी भएको जानकारी दिए । उनले संसदभित्र रहेका दलहरुको शक्तिका आधारमा प्रधानमन्त्रीलाई प्रश्न सोध्ने समझदारी भएको पनि बताए ।

    उनले भने, ‘प्रधानमन्त्रीले नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्तामध्ये प्रधानमन्त्रीलाई अनुकुल हुने दिन निर्धारण गरेर प्रश्नोत्तर गर्ने भनेर हामीले व्यवस्थित गरेका छौँ । त्यस सन्दर्भमा ४ गते नै प्रधानमन्त्रीले प्रश्नोत्तरमा सहभागि हुने तयारी हुँदैछ । त्यो हुँदा संसदभित्र रहेका दलहरुको स्ट्रेन्थको आधारमा प्रश्नहरु प्रधानमन्त्रीलाई सोध्नेगरी समझदारी बनेको छ ।’

    नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय समितिको बैठक पनि चाँडै बोलाउने सहमति भएको बताए । उनले सकेसम्म सोमवार (भोलि) नै समितिको बैठक बोलाउन जोड गरिएको उल्लेख गरे । उनका अनुसार संयुक्त समिति बनाउनका लागि नियमावली संशोधन आवश्यक रहेकाले नियमावली संशोधनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउने कुरा पनि भएको छ ।

    उनले भने, ‘अब चाँडै समितिको बैठक बसाउने कार्यव्यवस्था परामर्श समितिमा त्यो निर्णय भएको छ । सकेसम्म भोलि नै समितिका बैठक प्रारम्भ गर्ने । र जुन–जुन समितिमा विधेयक बसेका छन् । कमसेकम ति समितिका बैठक बसिहालौँ । विधेयकमाथिको छलफल शुरु गरिहालौँ । सँगसँगै समितिको नेतृत्वको चयनको कुरा अगाडी बढाउ भन्नेकुरा भएको छ । अब हामीले सुनुवाइ समिति पनि तत्काल बनाउनु जरुरी छ किनभने प्रधानन्यायाधीशको सिफारिस भइसकेको अवस्था छ । आज कार्यव्यवस्था परामर्श समितिमा पनि भोली नै संघीय संसदको संयुक्त सदनको बैठक र समितिको कार्यसञ्चालन सम्बन्धी जुन नियमावली छ, त्यसलाई संशोधन गर्ने गरेर भोलि नै प्रश्ताव गरौँ । र त्यो नियम संशोधन गरेर तत्काल नै सुनुवाइ समिति बनाऔँ भन्ने पनि कुरा हो । प्रधानमन्त्रीले प्रत्यक्ष प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । त्यसलाई कसरी व्यवस्थित गर्ने भन्नेपनि आज कुराकानी भयो कार्यव्यवस्थामा । प्रश्नहरुको बाँडफाँट कसरी गर्ने भन्ने कुरा भएका छन् ।’

    संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले समितिको बैठक बस्न कुनै समस्या नभएको बताए ।

    उनले प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्रीलाई सोध्ने प्रश्न ३ दिन अगावै सभामुख कहाँ पुग्नुपर्ने र सो प्रश्नहरु प्रधानमन्त्रीलाई जानकारी गराइने व्यवस्था रहेको उल्लेख गर्दै इच्छुक १५ जना सदस्यहरुले प्रश्न सोध्न पाउने पनि स्पष्ट पारे ।

    उनले भने, ‘इच्छुक १५ जना सदस्यले प्रश्न सोध्न पाउने व्यवस्था छ । यसरी सोधिएको प्रश्नमा थप स्पष्टीकरण सोध्ने अभ्यास पनि छैन । नियमावलीमा पनि त्यो व्यवस्था छैन । ३ दिन अगावै प्रधानमन्त्रीज्युलाई सोध्ने प्रश्न सभामुखज्युकोमा आइपुग्नुपर्छ । त्यसको सामान्य जानकारी प्रधानमन्त्रीज्युलाई गराइन्छ ।’

    उनले संसदीय समितिहरुको बैठक भोलि(सोमवार) नै बस्न सक्ने बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend