काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् ।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले भने दबाव रहेको उल्लेख गर्दै युद्धको बेला पनि घेराबन्दी र सखाप पार्ने रणनीति चिरेरै यहाँसम्म पुगिएको र अहिले पनि घेराबन्दी चिरेर अगाडि बढ्ने उद्घोष गरे ।
‘हामीलाई दबाव छ । तर जनताको साथ छ । सरकारको काममा जनताको उत्साह देखिएको छ’ दाहालले भने ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि हिलो छ्याप्ने प्रयास भइरहेको बताउँदै यसलाई रोक्न परिवर्तन पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए ।