शनिबार, जेष्ठ १० २०८२

शनिबार, जेष्ठ १० २०८२

अहिलेको डढेलो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी, आगामी दिनमा अझै बढ्न सक्ने अनुमान

अहिलेको डढेलो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी, आगामी दिनमा अझै बढ्न सक्ने अनुमान

सिड्नी – गत सेप्टेम्बर महिनापछि डढेलो लाग्ने मौसमको शुरुवात भएपश्चात् देशभर फैलिएको डढेलो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा विनाशकारी तथा बढी क्षेत्रफललाई प्रभावित पारेको डढेलो मानिएको छ ।

यो डढेलोले ५ सेप्टेम्बर २०१९ देखि हालसम्म अस्ट्रेलियाको करिब ५९ लाख हेक्टर क्षेत्रफललाई प्रभावित गरिसकेको छ । त्यसैगरी डढेलोको प्रकोपमा परी १९ जनाको मृत्यु भइसकेको छ भने करिब २ हजार ५ सयभन्दा बढी संरचनाहरू नष्ट भइसकेका छन् । यो सङ्ख्या आगामी दिनमा अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

योभन्दा अघि ६ फेब्रुअरी सन् १८५१ मा भिक्टोरिया राज्यमा फैलिएको डढेलोले करिब ५० लाख हेक्टर क्षेत्रफललाई प्रभावित गरेको अनुमान गरिएको थियो जसलाई ‘ब्ल्याक थर्सडे बुसफायर’ अर्थात् कालो बिहीबारको डढेलो भनेर चिनिने गरिन्छ ।

करिब ४८ करोड जीवजन्तु र पंक्षीहरूको मृत्यु

डढेलोको प्रकोप शुरु भएपछि करिब ४८ करोडको हाराहारीमा जीवजन्तुको मृत्यु भएको छ । युनिभरसिटी अफ सिड्नीका ‘इकोलोजिष्ट’हरूले डढेलो शुरु भएयता करिब ४८ करोड पशुपंक्षी तथा वन्यजन्तुको मृत्यु भइसकेको तथ्यांक सार्वजनिक गरेका थिए । यो सङ्ख्या आगामी दिनमा अझै बढ्ने उनीहरूले बताएका थिए । डढेलोले गर्दा केही प्रजातिका जीव तथा वनस्पतिको अस्तित्व नै खतरामा परेको पनि उनीहरूको दाबी छ ।

चार महिनाभित्र न्यू साउथ वेल्स राज्यमा मात्रै करिब ८ हजार अर्थात् एक तिहाइ ‘कोआला’को मृत्यु भएको बताइएको छ । कोआला सुस्त गतिमा हिँड्ने प्रजातिको वन्यजन्तु हो ।

‘स्ट्याण्ड अप फर न्याचर’ नामक १३ वटा प्रकृति संरक्षक संस्थाहरूको छाता संगठनले जङ्गमा गरिने सबै प्रकारका काठहरू काट्ने काम न्यू साउथ वेल्स राज्यमा तत्कालका रोक्न अनुरोध समेत गरेको छ । उक्त संगठनले न्यू साउथ वेल्सकी प्रिमियर ग्लेडिज् बेरिजिक्लिन्लाई लेखेको पत्रमा सो कुरा उल्लेख गरेको हो । पत्रमा भनिएको छ, “यो मौसमको डढेलोले वन्यजन्तुहरूको क्षतिको यकिन तथ्याङ्क हामीले शायद पाउन सक्ने छैनौं तर यो सङ्ख्या लाखौँमा हुनेचाहिँ पक्का छ । यसले दीर्घकालीन रूपमा समेत हाम्रो वातावरणमा पक्कै असर गर्नेछ ।”

न्यू साउथ वेल्स राज्यमा तेश्रोपटक संकटकाल

डढेलोको प्रकोप शुरु भएयता न्यू साउथ वेल्स राज्यमा तेश्रोपटक संकटकाल घोषणा गरिएको छ । भोलि शनिबार ४ जनवरीमा तापक्रम अत्यधिक रहने तथा हावाहुरी चल्ने पूर्वानुमान मौसम विभागले गरेपछि न्यू साउथ वेल्स राज्यमा संकटकालको घोषणा गरिएको हो । साथै आज शुक्रबार दिनभरि ‘टोटल फायर ब्यान’ अर्थात् खुला ठाउँमा कुनै पनि आगो बाल्ने कार्य गर्न निषेध गरिएको छ ।

न्यू साउथ वेल्स राज्यमा करिब १ सय १० वटा डढेलोहरू अहिले जलिरहेको र तीमध्ये करिब ५० वटा डढेलो नियन्त्रणभन्दा बाहिर रहेको रुरल फायर सर्भिसले जनाएको छ ।

भिक्टोरिया राज्यका ६ क्षेत्रमा आपतकालीन अवस्था

डढेलो शुरुभएयता भिक्टोरियामा राज्यमा पहिलोपटक आपतकालीन अवस्था लागू गरिएको छ । भिक्टोरिया राज्यका प्रिमियर ड्यानियल एन्ड्रूजले बिहीबार बेलुकी एक प्रेस कन्फरेन्समार्फत् सो घोषणा गरेका थिए ।

भिक्टोरिया राज्यका विभिन्न ६ क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गरिएको हो । सो राज्यका ५० वटा स्थानमा डढेलो लागेको बताउँदै प्रभावित क्षेत्रहरूबाट सर्वसाधारणलाई तत्काल ठाउँ छोड्न अधिकारीहरूले अनुरोध गरेका छन् ।

भिक्टोरियाको पूर्वी गिप्सल्याण्ड र अल्पाइन क्षेत्रमा डढेलो नियन्त्रणबाहिर गएको छ । आपतकालीन अवस्था घोषणा गरिएको क्षेत्रहरूमा पूर्वी गिप्सल्याण्ड, मेन्सफिल्ड, वेलिङ्टन, टोवांग, ग्रामीण वाङ्गाराटा, अल्पाइन, माउन्ट बुटल, माउन्ट होथाम, माउन्ट स्ट्रेलिङ अल्पाइन रिसोर्ट लगायतका छन् । भिक्टोरिया राज्यमा डढेलोका कारण अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।

केही क्षेत्रमा सेना परिचालन

भिक्टोरिया राज्यमा पर्ने पूर्वी गिप्सल्याण्डमा डिसेम्बर ३१ तारिखपछि फँसेका करिब ४ हजार मानिसहरूको उद्धार कार्यमा सेनाले सघाएको छ । तीमध्ये करिब ३ हजारजना पर्यटकहरू रहेको बताइएको छ ।

राज्यका प्रिमियर डेनियल एन्ड्रूजले ती क्षेत्रमा फँसेका मानिसलाई सेनाको पानीजहाजमार्फत् उद्धार शुरु भएको बताएका छन् । उनले एकपल्टमा करिब १ हजारको हाराहारीमा मानिसहरूको उद्धार गरिने भएकाले सेनाले पटकपटक गरेर त्यहाँ फँसेका मानिसहरूको उद्धार गर्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री स्कट मोरिसनको आलोचना

डढेलो प्रभावित क्षेत्र कोबारगोको भ्रमणका क्रममा प्रधानमन्त्री स्कट मोरिसनले स्थानीयवासीले आलोचना गरेका छन् । डडेलोपीडितलाई भेट्न जाँदा विरोध गर्दै ‘तिमी आफ्नो घर जाऊ । यहाँ नआऊ’ जस्ता नाराहरूको सामना गरेपछि प्रधानमन्त्री मोरिसन त्यस क्षेत्रबाट छिट्टै फर्केको सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसैगरी प्रधानमन्त्री स्टक मोरिसनले डढेलो नियन्त्रणका लागि प्रभावकारी भूमिका नखेलेको भन्दै सामाजिक सञ्जालका साथै विपक्षी दलले समेत व्यापक विरोध गरेका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend