
पौष १८ काठमाडौं प्रहरी प्रधान कार्यालयले सरुवा गरेको दुइ हप्तापछि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले चितवन छाडेका छन्। उनले डिएसपीलाई चार्ज बुझाएको ३ नम्बर प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको छ।
जिल्लाबाट सरुवा भएको झन्डै दुई हप्तासम्म जिल्ला नछोडेपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले मल्लका नाममा बुधबार राति ११ बजे जिल्ला छोड्न १२ घन्टे निर्देशन दिएको थियो।
प्रहरी प्रधान कार्यालयले पुस ४ गते २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको थियो। सरुवा हुनेमा चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्ल पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएका थिए।
सरूवा भएका अधिकांश प्रहरी उपरीक्षकले जिल्ला सम्हालिसकेका छन्। मल्ल कार्यरत चितवनमा प्रहरी उपरीक्षक गंगा पन्तको सरूवा भएको थियो। साधारणतया २४ घन्टाभित्र सरूवा कार्यान्वयन गराइसक्नुपर्ने नियम प्रहरी संगठनमा छ।
सरूवा भएको थाहा पाएपछि अधिकृतहरू जिल्ला छोडेर नयाँ आउने अधिकृतलाई ठाउँ खाली गर्छन्। साधारणत: एक वर्षसम्म जिल्ला प्रमुखको कार्यकाल हो। त्यसभन्दा अगाडि आठ महिनामै मल्लको सरूवा भएको थियो। उनलाई कमजोर कार्यक्षमता भएको भन्दै प्रधान कार्यालयले आठ महिनामै सरूवा गरेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend