मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

नगरप्रमुख नै ठेकेदार, जनतामा आक्रोश

नगरप्रमुख नै ठेकेदार, जनतामा आक्रोश

पौष २१ काठमाडौं कतिपय जनप्रतिनिधिहरू विकास निर्माण कार्यको ठेकेदारीमा आफैँ संलग्न भएको भन्दै आलोचना भइरहेका बेला बाराको कोहल्वी नगरपालिकामा पनि सोही प्रवृत्ति देखिएको छ । विगतमा ठेक्कापट्टाको काम गर्दै आएका नगरप्रमुख भरतबहादुर भण्डारीले जनप्रतिनिधि भइसकेपछि पनि त्यसलाई निरन्तरता दिएको आरोप लागेको छ । नगरप्रमुख भण्डारीले नातागोता र आफन्तमार्फत विकासका काममा एकाधिकार जमाएको भन्दै कोहल्वी नगरपालिकामा विरोधसमेत शुरु भएको छ ।

अधिकारको दुरुपयोग तथा कर्मचारीसमेत अस्तव्यस्त बनेपछि नगरप्रमुख भण्डारीविरुद्ध अन्य जनप्रतिनिधि र स्थानीयवासी आक्रोशित बनेका हुन् । बाटोको ठेक्का लिई मनलाग्दी खन्दै हिँड्ने, कामको उचित मूल्याङ्कन नगर्ने तथा ठेक्का प्रणालीलाई प्रश्रय दिने गतिविधिमा नगरप्रमुख भण्डारी संलग्न भएको स्थानीयवासीको आरोप छ ।

नगरप्रमुख भण्डारीले आफ्नै सालालगायतका व्यक्तिमार्फत गत साउनमा निर्माण गरेको सडकको कालोपत्र काम पूरा नहुँदै उप्किएको स्थानीयवासी पे्रमा अधिकारीले बताउनुभयो । नगरपालिकाभित्रका काममा मात्र नभई प्रदेश सरकारअन्तर्गतका काममा समेत नगरप्रमुख भण्डारीको अनुचित संलग्नता देखिएको स्थानीयवासीको आरोप छ ।

नगरप्रमुख भण्डारीले कमाउने धन्दामा भन्दा पनि इमान्दारपूवर्क जनताको सेवामा लाग्नुपर्ने जनप्रतिनिधि बलराम अधिकारीले बताउनुभयो । उपभोक्ता समितिमा आफन्त र आफू अनुकूलका व्यक्तिलाई राखिएको र सोही माध्यमबाट काममा अनियमितता भइरहेको नगरवासीले आरोप लगाएका छन् ।

विकासका काममा आफूसँग भएका उपकरणहरु प्रयोग गर्न वडाहरुले लैजाने गरेको तर आफ्नो कुनै संलग्नता नरहेको नगरप्रमुख भण्डारीको जिकिर छ । स्थानीय र अन्य जनप्रनिधि भने विकास बजेट नगरप्रमुख भण्डारीले आफ्ना आसेपासेलाई मनलाग्दी बाँडेको आरोप लगाइरहेका छन् । निर्वाचित जनप्रनिनिधिमाथि यस्ता गम्भीर आरोप लगाइँदा पनि नियामक निकायले छानबिनमा तदारुकता नदेखाउनु झन् समस्या रहेको स्थानीय जानकारहरुको भनाइ छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend