काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै सांसद शाहले सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरु मध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको बताए ।
उनले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनहरु समेत नभएको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।
उनले भने, ‘नेपाल सरकारले साझा यातायात सँगको सहयोगमा करिव ५७ करोडमा ३७ वटा बिजुली बस खरिद गरिएको थियो । जसमध्ये ३ वटा सञ्चालनमा आएको छ भने ३४ वटा अझै सञ्चालनमा आउन नसकेर पार्किङमा थन्किरहेको छ । छोरो पाउने कहिले, भोटो सिउने अहिले यो उखानले हाम्रा पूर्वजहरुको कुनैपनि विषयको पूर्वतयारीको हतारोलाई दर्शाउँछ । बिडम्बना हामी हाम्रो पूर्वजहरुभन्दा धेरै पछाडी परिरहेका छौँ । छोरो जन्मिइसक्यो लगाउने भोटो छैन । बिजुली बस आइसक्यो पार्किङ र चार्जिङ स्टेशन छैन । बिजुली बस गुड्न तयार छ गुडाउने रुट पर्मिट छैन । सर्वसाधारण दिनहुँ थोत्रो बसमा कोचिएर यात्रा गर्न बाध्य छन् । तर हामी भने सफा, सुविधासम्पन्न विद्युतिय बसलाई थन्क्याएर राखिराखेका छौँ । कतै हामीले माल पाएर चाल नपाएको हो कि ? जनताको रगत पसिनाले जम्मा भएको करले किनेको गाडीमा खिया नलागोस् भनि सरकारको ध्यानाकर्षण गराउँदछु ।’