logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • नक्कली भुटानी शरणार्थी प्रकरण: ‘सल्लाहकारलाई मुद्दा, मन्त्री र सचिवलाई उन्मुक्ति?’

    नक्कली भुटानी शरणार्थी प्रकरण: ‘सल्लाहकारलाई मुद्दा, मन्त्री र सचिवलाई उन्मुक्ति?’

    4.1K
    Shares
    नक्कली भुटानी शरणार्थी प्रकरण: ‘सल्लाहकारलाई मुद्दा, मन्त्री र सचिवलाई उन्मुक्ति?’

    काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका ‘हाई प्रोफाइल’ मध्येका इन्द्रजित राईको प्रतिरक्षा बहस बिहीबार सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको थुनछेक बहसमा राईका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बालकृष्ण ढकाल, प्रकाशबहादुर केसी, अधिवक्ता दिलकुमारी राई र कुमार अधिकारीले प्रतिरक्षा बहस गरेका थिए।

    राई एमाले उपाध्यक्ष रामबहादुर थापा गृहमन्त्री हँुदा उनका सुरक्षा सल्लाहकार थिए। राई सुरक्षा सल्लाहकार हुँदा भुटानी शरणार्थी समस्याको स्थायी समाधानका उपाय पहिल्याउन कार्यदल गठन भएको थियो। राईमाथि मिलेमतोमा कार्यदलमा सदस्य नियुक्त गर्न लगाएको आरोप छ। नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउन गिरोहका नाइके केशव दुलाल र सानु भण्डारीसँग मिलेर काम गरेको अभियोग पनि राईमाथि लगाइएको छ। भण्डारीको बयानलाई आधार बनाउँदै यस मामिलामा राईले तीन पटकमा ४ करोड ५० लाख रूपैयाँ लिएको अभियोगपत्रमा उल्लेख छ।

    प्रतिरक्षा बहसका क्रममा वकिलहरूले राईलाई राज्यले बदनियत राखेर फसाउन खोजेको दाबी गर्दै तर्क पेस गरे। सहअभियुक्तले अधिकारप्राप्त अधिकारीसँग दिएको बयानकै आधारमा राईलाई पक्राउ गरेर मुद्दा चलाइएको र यो प्रकरणमा निर्दोष रहेकाले उनलाई साधारण तारेखमा छाड्न माग गरे। ‘मेरो पक्ष (इन्द्रजित राई) लाई बिनाआधार र बिनाप्रमाण पक्राउ गरी मुद्दा चलाइएको छ,’ वरिष्ठ अधिवक्ता ढकालले भने, ‘२२४ पेजको अभियोजनपत्रमा उहाँको कसुर प्रमाणित हुने एउटा पनि ठोस आधार र प्रमाण छैन। सहअभियुक्तले अधिकारप्राप्त अधिकारीसँग दिएको भनिएको बयानकै आधारमा यो सब भएको छ।’ दुलाल र भण्डारीले अधिकारप्राप्त अधिकारी (अनुसन्धान अधिकृत) सँगको बयानमा रकम दिएको भनेको र सानु भण्डारीको भनिने डायरीमा रकम लिएको भनी उल्लेख गरिएको बाहेक राईविरुद्ध मुद्दा लगाउनुको कुनै प्रमाण नरहेको दाबी उनले गरे। ‘त्यो बयान पनि अदालतमा उपस्थित हुँदा दुवैजना (भण्डारी र दुलाल) ले दिएको देखिएन। दुवैले इन्कारी बयान दिएका छन्। सानु भण्डारीले त्यो डायरी आफ्नो नभएको बयान दिएका छन्। अब यस्तोमा इन्द्रजित राईको कसुर कसरी प्रमाणित हुन्छ?’ वरिष्ठ अधिवक्ता ढकालले भने।

    यस्तै पीडित भनिएका जाहेरवालाहरूमध्ये कसैले पनि राईविरुद्ध जाहेरी नदिएको ढकालले बताए। उनले भने, ‘न कुनै फिजिकल प्रमाण न कुनै प्रमाणको शृंखला, न कसैको किटानी जाहेरी, त्यत्तिकै बोलेकै भरमा थुनेर मुद्दा चलाउन पाइन्छ र श्रीमान्?’ राई तत्कालीन गृहमन्त्रीको सुरक्षा सल्लाहकार रहेको र उनको काम रायसुझाव मात्रै दिने रहेको तर्क गर्दै वरिष्ठ अधिवक्ता ढकालले कार्यकारी अधिकार नभएको व्यक्तिले मन्त्रालयको निर्णय प्रक्रियामा कत्तिको भूमिका खेल्नसक्छ भन्ने प्रश्न गरे। ‘यदि इन्द्रजित राईको सुझावमा काम भएको हो भने त्यो सुझावअनुसार काम गर्ने कार्यकारी अधिकारप्राप्त व्यक्ति तत्कालीन गृहमन्त्री रामबहादुर थापा र सचिव प्रेमकुमार राईलाई किन मुद्दा नचल्ने? अनि सुझाव दिनेलाई मात्र मुद्दा चल्ने?’ उनले भने, ‘मन्त्रालयको कुर्चीमा बसेको भन्दैमा मुद्दा लगाएर थुन्न पाइन्छ र?’

    यस्तै अर्का वरिष्ठ अधिवक्ता प्रकाशबहादुर केसीले शंकाका आधारमा मात्रै आरोप प्रमाणित हुने प्रचलन बसाले आफू वा न्यायाधीश कोही पनि नबच्ने बताए। ‘सार्वजनिक ओहदामा बसेको व्यक्तिले धेरैलाई चिनेको हुन्छ। इन्द्रजित राईले केशव दुलाल, सानु भण्डारी, टोपबहादुर रायमाझी, टेकनाथ रिजाल वा बालकृष्ण खाणलाई चिन्नु नै अपराध कसरी पुष्टि हुन्छ?’ उनले भने, ‘यसरी चिनजान र शंकाका आधारमा आरोप लगाउने र त्यसैलाई प्रमाण मान्ने हो भने, म आफंै, श्रीमान् (न्यायाधीश) कोही पनि बच्दैनौं।’ भण्डारीको डायरीलाई वरिष्ठ अधिवक्ता केसीले ‘बेपत्ते डायरी’ को संज्ञा दिँदै त्यो डायरीमा लेखेको कुरा प्रमाण नहुने तर्क गरे। ‘त्यो सानु भण्डारीको डायरी भनिएको छ। सानु भण्डारीले श्रीमान्कै अघि उभिएर त्यो डायरी मेरो होइन भनेर बयान दिएका छन्। त्यो बेपत्ते डायरीमा लेखेको भनिएको कुरा कसरी प्रमाण हुन्छ?’ केसीले प्रश्न गरे।

    नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गतका मुद्दाहरूमा बिहीबार पाँचजना प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस गरे। आरोपितहरूमध्ये सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई र इन्द्रजित राईका वकिलहरूले प्रतिरक्षा बहस गरेका हुन्। भण्डारी र गुरुङका वकिलहरूले बुधबार पनि बहस गरेका थिए। ती दुवैजनाका तर्फबाट बिहीबार वरिष्ठ अधिवक्ता एवं पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले बहस गरे। यस्तै पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार राईका तर्फबाट वरिष्ठ अधिवक्ताहरू बालकृष्ण ढकाल, प्रेमबहादुर खत्री अधिवक्ता दिलकुमारी राईलगायतले बहस गरे। शर्माको तर्फबाट अधिवक्ताहरू सुशीला कार्की, नगेन्द्र चौहान, यज्ञ खतिवडा, गोपालराज अर्याल, दिपकराज रेग्मी र मंगल महर्जनले बहस गरे।

    सागर राईका तर्फबाट अधिवक्ताहरू विनोद कार्की, प्रकाश पौडेल, सन्तोषप्रसाद भट्ट र इन्द्र पोखरेलले बहस गरे। बिहीबारसम्म ६ जना प्रतिवादीको प्रतिरक्षा बहस सकिएको जिल्ला अदालत काठमाडौंले जनाएको छ। बाँकी अभियुक्तको प्रतिरक्षा बहस जेठ ३० गतेसम्म चल्नेछ। ३१ गते जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका तर्फबाट जवाफी बहस हुनेछ। त्यसैदिन न्यायाधीश प्रेमप्रसाद न्यौपानेले थुनछेकसम्बन्धमा आदेश दिने जनाएका छन्। आजकाे नागरिक दैनिकमा समाचार छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend