logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • १० महिनामा १२ खर्ब ४ अर्ब व्यापार घाटा

    १० महिनामा १२ खर्ब ४ अर्ब व्यापार घाटा

    1.4K
    Shares
    १० महिनामा १२ खर्ब ४ अर्ब व्यापार घाटा

    काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा कूल वस्तु व्यापार घाटा १५ दशमलवनौ प्रतिशतले कमी आई १२ खर्ब चार अर्ब ४२ करोड कायम भएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार गत आवको सोही अवधिमा यस्तो घाटा २४ दशमलव नौ प्रतिशतले बढेको थियो ।

    समीक्षा अवधिमा निर्यात–आयात अनुपात नौ दशमलव आठ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १० दशमलव आठ प्रतिशत थियो ।

    चालु आवको वैशाखसम्ममा कूल वस्तु आयात १६ दशमलव आठ प्रतिशतले कमी आई १३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५ दशमलव एक प्रतिशत, २१ प्रतिशत र १८ दशमलव छ प्रतिशतले कमी आएको छ ।

    वस्तुगत आधारमा रासायनिक मल, स्पोन्ज आइरन, सुन, पेट्रोलियम पदार्थ, कागज लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, एम एस विलेट, औषधि, अन्य मेशिनरी तथा पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्स लगायतका वस्तुको आयात घटेको छ ।

    समीक्षा अवधिमा कूल वस्तु निर्यात २४ दशमलव पाँच प्रतिशतले कमी आई एक सय ३० अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९ दशमलव आठ प्रतिशतले वृद्धि भएको थियो ।

    गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३ दशमलव छ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः एक सय दशमलव छ प्रतिशत र आठ दशमलव दुई प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिङ्क सिट, पार्टिकल बोर्ड, अलैँची, ऊनी गलैँचा, पोलिष्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाबिन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको छ ।

    निर्याततर्फ भैरहवा, सुक्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ ।

    आयाततर्फ रसुवा भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी एक खर्ब १९ अर्ब ६० करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात एक खर्ब ८३ अर्ब ९४ करोड बराबरको थियो ।

    वृहत् आर्थिक वर्गीकरणअनुसार समीक्षा अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५४ दशमलव नौ प्रतिशत र ४४ दशमलव पाँच प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगण्य अर्थात् शून्य दशमलव छ प्रतिशत छ । गत वर्षको सोही अवधिमा भएको कूल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ४७.१ प्रतिशत, ०.०२ प्रतिशत र ५२.९ प्रतिशत थियो ।

    समीक्षा अवधिमा भएको कूल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३ दशमलव दुई प्रतिशत, पुँजीगत वस्तुको आठ दशमलव चार प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८ दशमलव चार प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५२ दशमलव आठ प्रतिशत, १० दशमलव चार प्रतिशत र ३६ दशमलव आठ प्रतिशत थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend