logo

२०८० असोज ६ शनिबार

logo
  • शनिबार, ६ असोज २०८०
  • प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

    प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

    910
    SHARES
    प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

    पाटन । स्वर्गीय प्रेमध्वज प्रधानको ८७औँ जन्मजयन्तीका अवसरमा ‘गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा तीन स्रष्टा सम्मानित भएका छन् । सम्मानित हुनेमा गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार रहेका छन् ।



    ललितपुरमा आज आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले गीत तथा सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् वरिष्ठ गीतकार खरेललाई एक लाखसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान प्रदान गरिन् ।

    यस्तै, वरिष्ठ सितारवादक तुलाधरलाई ७५ हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सङ्गीत सम्मान प्रदान गरे। यसैगरी गायिका नेवारलाई ५० हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट सम्मानित गरिएको छ ।

    सम्मान तथा पुरस्कार हस्तान्तरणपछि लोकसंस्कृतिविद् दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी रहेको बताइन् । ‘देशको विकास भौतिक रुपले मात्रै नभई कलात्मक र साहित्यिक रुपले पनि अगाडि बढ्नु जरुरी छ । प्रेमध्वजलाई आधार बनाएर गरिएको कार्यक्रमको प्रशंसा गर्दछु’, उनले भनिन्। गीत र सङ्गीतले मनोरञ्जन मात्रै दिँदैन, देश र विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने दिवसको भनाइ थियो ।

    वरिष्ठ कवि एवं गीतकार दिनेश अधिकारीले प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा पहिलो गीत ‘रेकर्ड’ भएपछि हिन्दी गीतको दबदबा हट्दै गएको बताए। ‘प्रेमध्वज प्रधानको आवाजमा रेडियो नेपालमा २०१३ सालमा ‘यो नेपाली शिर उचाली, संसारमा लम्किन्छ…’ भन्ने गीत रेकर्ड भएको थियो । विसं २०१४ पछि नेपाली गीत रेकर्ड हुन थाले, त्यसअघिसम्म हिन्दी गीतको दबदबा थियो । हिन्दी गीत विस्थापित हुन थाले, नेपाली गीत स्थापित हुन थाले’, उनले भने ।

    गीतकार अधिकारीले नेपाली भाषाको परिष्कृत र परिमार्जनलाई हेर्नुप¥यो भने खरेलका गीतलाई अध्ययन गर्दा हुने धारणा राखे। खरेलका गीतमा प्रकृति, प्रेम र लोकजीवन पाउन सकिने उल्लेख गर्दै उनले खरेलका दुई दर्जनभन्दा बढी गीत प्रेमध्वज प्रधानको आवाजमा प्रवाहित भएको बताए ।

    सम्मान कार्यक्रममा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत कलाकार नेवारले प्रेमध्वज प्रधानका गीत प्रस्तुत गरेका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2023 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend