काठमाडौं । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध परेको मुद्दाको सुनुवाई आज हुने भएको छ।
तत्कालीन विद्रोही माओवादीका पूर्वलडाकु लेनिन विष्टले जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार रिट दायर गरेका हुन्।
सशस्त्र द्वन्द्वको समयमा विष्टले आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि वास्ता नगरेको भन्दै माओवादीका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई रिट निवेदनमा विपक्षी बनाइएको छ।
आफूहरूलाई तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनी अन्तरिम आदेशको माग गरेका छन् ।
यसअघि सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय निरुपणको विषय सँग सम्बन्धित विषयमा त्यसैअनुरुप हुने भन्दै जेठ १६ गते रिट दरपिठ गरिदिएको थियो ।
शुक्रबार दरपिठविरुद्ध दिइएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले दरपिठ बदर गर्दै रिट दर्ता गर्न आदेश जारी गरेको थियो ।