तनहुँ । सामाजिक सञ्जालबाट प्रेममा परेर विवाह गरेको दुई महिना नबित्दै एक महिलाको हत्या गरिएको छ । श्रीमतीको हत्या अभियोगमा प्रहरीले श्रीमानलाई पक्राउ गरेको छ ।
श्रीमतीको हत्या गरेको आरोपमा भानु नगरपालिका–५ मैबल हटिया घर भई हाल व्यास नगरपालिका–४ दमौलीमा डेरा गरी बस्ने २१ वर्षीय मनोज बिष्टलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक अवदेश विष्टका अनुसार २२ वर्षीया रङ्गिला भुजेललाई हत्या गरी फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मङ्गलबार दिउँसो श्रीमतीको हत्या गरी बोरामा पोको पारी फालेको अनुसन्धान गर्ने क्रममा खुलेको प्रनाउ विष्टले जानकारी दिए । विष्टका अनुसार नगरपालिका–४ गुरुङ चियानडाँडास्थित सुवर्ण मार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी निकासका लागि बिछ्याइएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र सडिगली दुर्गन्धित भएको अवस्थामा भुजेलको शव भेटिएको थियो ।
‘भुजेललाई उक्त स्थानमा लागि फाल्ने निजकै श्रीमान रहेको रहस्य खुलेको छ । अभियुक्तले हत्या गरेको स्वीकार गरेका छन् ।’ प्रनाउ विष्टले भने ।
मङ्गलबार राति ९ बजेर ४५ मिनेटमा व्यास नगरपालिका–३ तरकारी लाईन, दमौलीमा फेला पारी प्रारम्भिक अनुसन्धान गर्दा श्रीमतीको हत्या गरी ह्युम पाईपमा लगेर फालेको भनी बताएको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
तनहुँ जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दामा पाँचको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालमार्फत् प्रेम बसेपछि दुई महिना अघि वैशाख १ गते विष्टले भुजेलसँग प्रेम विवाह गरेका थिए ।
श्रीमतीले दुई वटा सिम लिई अर्को केटासँग पनि बोल्ने गरेको भनि झगडा परेपछि हत्या गरेको अभियुक्तले बताएको प्रनाउ विष्टले जानकारी दिए ।