काठमाडौं । भारतीय चलचित्र ‘आदिपुरुष’ को नेपाल वितरण कम्पनी ब्यांकटेस फिल्म्सले आज सोमबारदेखि देशभर प्रदेश रोक्ने निर्णय गरेको छ । कम्पनीका निर्देशक मनोज राठीले देशभरीका हलबाट फिल्म प्रदर्शन रोक्ने निर्णय गरिएको जानकारी दिए ।
उनले भने, ‘हल व्यवसायीले नै आधिकारिक पत्र बिना, फेसबुकमा स्टाटस लेखेको भरमा फिल्म रोक्नुहुन्छ भने हामीले अन्त चलाइरहनु छैन, हामी कानुनी उपचारमा पनि जाँदैनौं ।’ उनले भने ।
महानगर प्रमुख बालेनको निर्देशनपछि हल व्यवसायीले आजदेखि काठमाडौं महानगरका १७ वटै हल बन्द गरेका थिए ।चलचित्र संघ र हल व्यवसायीले आधिकारिक निर्णयबिना फिल्म रोक्ने कार्य गरेकोप्रति राठीको असन्तुष्टि रहेको छ।
यसकासाथै, समस्या समाधानका लागि बालेनले पनि तदारुकता नदेखाएकोप्रति वितरकले गुनासो गरेको छ । बालेनको निर्देशनमा नगर प्रहरी आइतबार बेलुका हलहलमा पुगेर फिल्म नचलाउन मौखिक निर्देशन गरेका थिए ।
आदीपुरुषमा ‘जानकी भारतकी छोरी भएको’ भन्ने संवादप्रति आपत्ति प्रकट गर्दै महानगर प्रमुख बालेनले फेसबुकमार्फत यसलाई भारतमा सच्याउन तीन दिनको अल्टीमेटम दिएका थिए यद्यपी नसच्याइएको भन्दै आजदेखि भारतीय फिल्मलाई चल्न रोक लगाइएको हो ।