
माघ ३ काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले गायिका आस्था राउतलाई प्रहरीले कुनै पनि अभद्र व्यवहार नगरेको बताएका छन्। विमानस्थल सुरक्षामा खटिएका प्रहरीले जोकोहीलाई पनि चेकजाँच गर्नुपर्ने जिम्मेवारी भएको र विमानस्थल जस्तो संवेदनशील स्थानमा पदीय हिसाबले कसैलाई पनि चेकजाँचमा छुट नहुने उनको भनाइ छ।
विमानस्थलमा चेकजाँचमा खटिनुभएकि महिला प्रहरी जवानसंग पनि यस विषयमा कुराकानी गरिएको भन्दै बोगटीले राउतको प्लेन छुटिसक्ने समय हुँदा पनि कफी खादैँ बसेको र हतारिएर जाने क्रममा चेकजाँचनै नगरी प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको बताए। राउत एक स्थापित गायिका भएर पनि प्रहरीको गरिमामाथिनै आँच आउने र मनोबल गिराउने गरि अत्यन्तै निच शब्दहरु प्रयोग गरि अमर्यादित व्यवहार देखाउनु असोभनिय भएको उनले बताए। घटनाको छानविन भैरहेको र दोषी जोकोही भए पनि प्रहरीले कानुनअनुसार कारवाहीको दायरामा ल्याउँछ, उनले भने।
फरक प्रसङ्गमा बोगटीले काठमाडौंको सुरक्षाव्यवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी अहोरात्र खटिएको बताए। केहि फाटफुट घटनाहरु भएपनि काठमाडौंको सुरक्षाव्यवस्था राम्रो रहेको उनको भनाइ छ। पोसाकमै होस् या सादा पोसाकमा खटिने, चेक पोइन्ट बढाउने देखि लिएर हामीले गर्नुपर्ने सम्पूर्ण काम गरेका छौँ, उनले भने ” काठमाडौंको सुरक्षाव्यवस्था सामान्य छ, हामीले अमर्यादित क्रियाकलाप गर्ने धेरैलाई पक्राउ गरि कानुनको दायरामा ल्याएका छौँ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend