काठमाडौं । विवादास्पद भारतीय फिल्म आदिपुरुषको कलेक्सन नाटकीय तवरले घटेको छ ।
दर्शकको संख्यामा कमी आएपछि निर्माताले २२ र २३ जुनको लागि टिकटको रकममा छुटको उपहार ल्याएका थिए । तर सो ट्रिकले पनि काम नगरेपछि निर्माता निराश भएका छन् ।
प्रारम्भिक तथ्यांक अनुसार आदिपुरुषले आठौँ दिन मात्र ३.२५ करोड आम्दानी गरेको छ । जबकि कूल आम्दानी २६३.१५ करोड पुगेको छ । तर, आगामी दिनमा आदिपुरुषको कमाई हेर्दा फिल्मले भारतमा ३०० करोडको आँकडा पार गर्न समेत कठिनाई पर्ने देखिन्छ ।
कलेक्सनको कुरा गर्दा पहिलो दिन चलचित्रले ८६.७५ करोड, दोस्रो दिन ६५.२५ करोड, तेस्रो दिन ६९.१ करोड, चौथो दिन १८ करोड, पाँचौँ दिन १०.७ करोड, छैटौँ दिन ७.२५ करोड सातौँ दिनमा ४.८५ करोड रकम उठाएको थियो ।
यसपछि पहिलो साता भारतमा फिल्मको कुल कमाई २५९.९ करोड पुगेको छ । आदिपुरुषको विश्वव्यापी बक्स अफिस कलेक्शन भने ४०० करोड पार गरेको छ ।
जुन १६ मा रिलिजमा आएको आदिपुरुष रामायणबाट प्रेरित भएको बताइएको छ । जसका कारण रिलिज हुनुअघि नै फिल्मको चर्चा एकदमै चुलिएको थियो । यद्यपि, फिल्म रिलिज हुने बित्तिकै संवाद र दृश्य देखेर फ्यानहरू भड्किन थालेका छन् ।