काठमाडौं । बालुवाटारस्थित ललितानिवासको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समरजंग कम्पनीका पूर्वअधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई काठमाडौंबाट पक्राउ गरेको सीआईबीकी निर्देशक एआईजी किरण बज्रचार्यले जानकारी दिइन् ।
सीआईबीले हिजो (आइतबार) ललितानिवास जग्गा अनियमितता प्रकरणकै अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको थियो ।
यसअघि ७ जनालाई पक्राउ गरेकामा सर्वोच्च अदालतबाट पहिल्यै निषेधको आदेश लिएकाले तीन जनालाई छाडिएको थियो । यस प्रकरणमा अहिलेसम्म ९ जना ब्यूरोले थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्ते गरेको आरोपमा सीआईबीले छानबिन गरिरहेको छ ।