काठमाडौं । प्रहरीले मर्निङ वाक गर्ने महिलाको सुनको सिक्री शृंखलाबद्ध रुपमा लुटपाट गर्ने समूहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाबाट खटिएको विशेष प्रहरी टोलीले उमेश क्षेत्री, रविन दमाइ, रविन विक र राहुल माझीलाई लुटपाटको अभियोगमा पक्राउ गरेको हो । प्रहरीका अनुसार उक्त समूहले १ असारदेखि २० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा ८ जनाको सिक्री लुटेका हुन् ।
प्रहरीले जनाएअनुसार पहिलो घटना १ असारको बिहान कपुर धारास्थित मर्निङ वाक हिँडिरहेकी रमा पाण्डेले घाँटीमा लगाएको गहना २ जनाले लुटेका थिए । अँध्यारो भएकाले सीसीटीभी फुटेजमा २ जना आएको देखिन्थ्यो, तर पहिचान हुने पाएको थिएन् ।
सोही दिन कपुराधारामा भएको लुटपाटकै शैलीमा टोखाको ग्राण्डी अस्पताल नजिक लुटपाट भएको थियो भने सीसीटीभी फुटेजमा केटीएम ड्युक मोटरसाइकल र लुटपाटमा संलग्न व्यक्तिको थोरै हुलियो मात्र देखिएको प्रहरीले बताएको छ ।
३ गते बिहान ४ः४५ बजेतिर नागार्जुन बुद्धचोक क्षेत्रमा दुई जनाको समूहले ५५ वर्षीया रेखा घिमिरेको घाँटीमा लगाएको गहना लुटियो। लुटपाट गर्नेहरु मोटरसाइकलमा आएकामा घटना लगतै प्रहरीले तत्काल हेरेको सीसीटीभी फुटेजमा लुटपाटमा संलग्न भएकाले अघिल्ला घटनामा जस्तै हुडी लगाएका थिए ।
१३ गते टोखामै भएको चौथो घटनामा मोटरसाइकलमा आएका दुई जनाले मंगली माया डंगोलले घाँटीमा लगाएको गहना लुटपाट गरी भागेका थिए। यसमा पनि केटीएम ड्युक बाइक प्रयोग गरिएको सीसीटीभी फुटेज हेर्दा देखिन्छ ।
टोखामै मर्निङ वाकमा निस्किएकी ३४ वर्षीया गंगा राना मगरमाथि पनि लुटपाट गरियो। घाँटीमा लगाएको उनको सुन चोरिएको थियो । ‘यसमा एउटै खालको शैली थियो । एउटै ग्रुप वा पछाडिको मान्छे एउटै हुनसक्छ भन्ने थियो । त्यहीअनुसार प्रहरी खटाएका थियौं ।’महाशाखा प्रमुख डा। मनोज केसीले भने ।
चक्रपथको वंगलामुखी क्षेत्रमा ६० वर्षीया कान्छी श्रेष्ठले लगाएको गहना लुटपाट गरिएको थियो ।
२० गते टोखा ३ को शेर्पा पेट्रोल पम्प नजिक भयो, रिता श्रेष्ठलाई लुटपाट गरियो। प्रहरीले एउटै व्यक्तिले एउटै शैली र एउटै उद्देश्यले लुटपाट गरिरहेको पत्ता त लगायो, तर अभियुक्तसम्म पुग्न भने सकेको थिएन् ।
सोही दिन चागलमा अर्को लुटपाटको घटना भयो । बिहान तीन जनाको समूहमा मर्निङवाकमा हिँडिरहेकी सरस्वती डंगोलको सिक्री लुटेर भागे । बिहान निकै उज्यालो भइसकेको समयमा भएको उक्त घटनामा भने प्रहरीले अभियुक्तसम्म पुग्नसक्ने गरी सीसीटीभी फुटेज फेला प¥यो ।
महाशाखाका प्रमुख केसीले अगाडि भने, ‘सीसीटीभी फुटेज क्लियर भएपछि अनुसन्धानमा लिड दिने अवस्था बन्यो ।’
अनुसन्धानकै दौरानमा प्रहरीले हुडी लगाएर लुटपाट गर्ने रविन दमाईलाई पक्राउ गरेको छ । व्यवस्थापन गर्ने उमेश क्षेत्री, मोटरसाइकल चलाउने रविन बिकका साथै लुटपाट गरिएको सुन बिक्री गर्न सहयोग गर्ने राहुल दमाई पनि नियन्त्रणमा लिइसकेको छ ।
महानगरीय अपराध महाशाखाका अनुसार सबै घटनामा रविनले सिक्री लुटपाट गर्ने गरेका थिए । उनले प्रयोग गरेको हुडी लगायतका सबै सामाग्री बरामद गरिएको छ ।