काठमाडौं । आज (मंगलबार) विहानैदेखि बेपत्ता रहेको मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा भेट्टिएको छ । सोलुखुम्बुस्थित सुर्केबाट काठमाडौंका लागि उडान भरेको हेलिकप्टर सोलुखुम्बुको लाम्जुराबाट सम्पर्कविहीन हुन पुगेको थियो ।
दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले लाम्जुरापास क्षेत्रमा नै हेलिकप्टर दुर्घटनाग्रस्त भएको अवस्थामा भेटिएको जानकारी दिए ।
उनले भने, ‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन ।’ सो हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु सवार थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम थालिसकेको उनले जानकारी दिए ।
मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।
काठमाडौंबाट उद्धारका लागि पठाइएको अल्टिच्युड एयरको हेलिकप्टर पनि अहिले दुर्घटनास्थलमा अवतरण गरेको छ ।