ईलाम । जिल्लाको सुर्योदय नगरपालिका–२ चारमाईलस्थित सीमा ईलाकाबाट हिजो (सोमबार) सशस्त्र प्रहरीले करीव ८ लाख ७५ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामान बरामद गरेको छ ।
नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको खुकुरी चुरोट १७ कार्टुन र शिखर चुरोट २ कार्टुन प्रस्तावित सीमा सुरक्षा गुल्म पशुपतिनगर ईलामले बरामद गरेको हो ।
सामान लैजाँदै गरेका व्यक्तिहरु भने सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा सामान छाडी फरार भएका थिए ।
बरामद सामान पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको सशस्त्र प्रहरी निरीक्षक दिल कुमार श्रेष्ठले जानकारी दिए ।