काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले समाजसेवामा फाइदा लिने मानिसहरुको काम नहुने बताएका छन् ।
शुक्रवार काठमाडौंमा ५८ औं रक्तसञ्चार सेवा दिवस समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै समाजसेवामा राम्रो हुने बताए ।
मन्त्री बस्नेतले नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्रले आफ्नो क्षेत्रबाट गरेको कामहरु महत्वपूर्ण रहेको बताए । उनले देशमा अफ्ठ्यारो परेको बेलामा र रगत चाहिएको बेलामा आवश्यक रगत उपलब्ध गराउनु महत्वपूर्ण हुने बताए । उनले देशमा शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्ने बताए ।
उनले भने, ‘समाजसेवामा फाइदा लिने मानिसहरु लागेर काम छैन । जनसेवा गर्ने संकल्प लिएकाहरु मात्रै यो क्षेत्रमा ठिक हुन्छ । त्यसकारण नेपाल रेडक्रस सोसाइटी वा रक्तासञ्चार केन्द्र जुनजुन क्षेत्रबाट भएपनि आजसम्म यो देशमा अफ्ठ्यारो परेको बेलामा, रगत चाहिएको बेलामा दिँदै आएको छ । यो आफ्नो रगत दिएर अरुलाई बचाउने कुराको महत्व भनिरहनु पर्दैन । शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ भनेर लागेर हिँडेको मान्छे हुँ म ।’
मन्त्री बस्नेतले कामह जति पवित्र हुन्छन् त्यत्ति धेरै गुनासो आउने बताए । देशमा भएका फार्मेसीहरुको निरीक्षण गर्दा विधिसम्मत रुपमा नचलेका फार्मेसीहरु बढी रहेको पाइएको बताए ।