काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंको सोह्रखुट्टे गोदामबाट बुधबार जफत गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन निकालिएको पाइएको छ । सुन झिकेर दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएकाे विभाग स्रोतले जानकारी दिएको छ ।
राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन निकालिएको पाइएको हो ।
१००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन निकालेको पाइएको छ । ब्रेक शुबाट ७३२.६ केजी सुन बराबरको जम्माजम्मी झिकेको पाइएको छ । सुन निकालेपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै रहेको छ ।
गोदामबाट बरामद गर्ने दौरानमा सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका ‘ब्रेक शु’ बरामद गरिएको थियो । बरामद गरिएका ‘ब्रेक शु’लाई ल्याब परीक्षणका लागि भन्सार विभागमा पठाइएको थियो ।