मंगलबार, चैत्र १२ २०८१

मंगलबार, चैत्र १२ २०८१

चीनबाट नेपालीलाई फर्काउन दुई विमान तयारी अवस्थामा छन्: राजदूतावास

चीनबाट नेपालीलाई फर्काउन दुई विमान तयारी अवस्थामा छन्: राजदूतावास

माघ २१ काठमाडौं कोरोनाभाइरस सङ्क्रमणको त्रास बढ्दै गर्दा चीनको हुबे प्रान्तमा छरिएर रहेका नेपालीलाई स्वदेश फर्काउने बन्दोबस्त आफ्नोतर्फबाट लगभग पूरा भएको बेइजिङस्थित नेपाली राजदूतावासले बताएको छ। चीनको राजधानीस्थित नेपाली दूतावासका नियोग उपप्रमुख सुशीलकुमार लम्सालका अनुसार हुबेमा रहेका १८० जना नेपालीबाट उद्धारका लागि आवेदन प्राप्त भएको छ।

स्वदेश फर्किन इच्छुक व्यक्तिहरू कोरोनाभाइरस महामारीको केन्द्रबिन्दुमा रहेको वुहान र वरपरका स्थानमा बस्दै आएका छन्। वुहानबाट सुरु भएको भनिएको नयाँ कोरोनाभाइरसको प्रकोप फैलिएपछि चीनमा अहिलेसम्म ४२५ जनाको मृत्यु भइसकेको छ भने २०,००० मानिसमा सङ्क्रमण भएको पुष्टि भएको छ । अन्य एक दर्जनभन्दा बढी देशका १५० भन्दा बढी मानिसमा पाइएको सङ्क्रमणमा चीनबाहिर फिलिपिन्समा एक र हङ्‌कङमा एक जनाको मृत्यु भएको छ।

नेपालबाट निर्देशन प्राप्त हुनासाथ हामी उहाँहरूलाई नेपाल फिर्ता पठाउँछौं, मङ्गलवार लम्सालले भने। तर हुबेका विभिन्न स्थानमा छरिएका नेपालीहरूलाई वुहान ल्याउन एकदेखि दुई दिनसम्म लाग्ने बताइएको छ। लम्सालले भने, ‘कुनै स्थान वुहानदेखि १० घन्टासम्म बस यात्रा गर्नुपर्ने दूरीमा छन्। उनीहरूलाई वुहान ल्याउन हामीलाई केही समय चाहिन्छ।’

अध्ययन तथा काम गर्न गएका नेपालीहरूले आफूलाई उद्धार गरी स्वदेश फिर्ता गर्न सरकारसँग आग्रह गरेका थिए । झन्डै २०० जना नेपालीहरू वुहान र त्यसवरपर बस्ने भए पनि दूतावासले उद्धारका लागि सूचना प्रकाशित गर्दा कुल १८० जनाले मात्र आवेदन दिएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपाल वायुसेवा निगम र हिमालय एअरलाइन्सका दुई विमान चीनको वुहानबाट ती नेपालीको उद्धार गर्न तयारी अवस्थामा छन्। तर चीनबाट ल्याइने नेपालीलाई केही दिनसम्म कहाँ अलग्गै निगरानीमा राख्ने भनेर सरकारले अहिलेसम्म निर्णय गरिसकेको छैन। यसअघि अमेरिका, ब्रिटेन, अस्ट्रेलिया, भारत र अन्य देशले वुहान र वरपर रहेका आफ्ना नागरिकलाई फिर्ता लगेका थिए।

पछिल्लो विवरणअनुसार ताइवानले पनि वुहानबाट आफ्ना झन्डै ५०० नागरिकको उद्धार गरेको छ। उनीहरू ताइपेई पुगिसकेका छन् र उनीहरूलाई दुई सातासम्म अलग्गै राखेर स्वास्थ्य परीक्षण गरिने बताइएको छ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend