काठमाडौं । करिब एक सय किलो सुन तस्करी प्रकरणमा अनुसन्धानका क्रममा संलग्नताको संकेत देखिएपछि राजश्व अनुसन्धान विभागले ठमेलस्थित होटल भियनामा छापा मारेको छ ।
विभाग उच्च स्रोतका अनुसार आइतबार बिहानदेखि भियनामा छापा मारेर विभागको टोलीले केही महत्वपूर्ण कागजात र सामग्रीहरु नियन्त्रणमा लिएको बताइएको छ । विभागको टोलीले होटलबाट एक नेपाली मुलका तर, बेल्जिनिमका नागरिकलाई समेत पक्राउ गरेको छ ।
हङकङबाट अवैधानिक सुन ल्याइ नेपालमा व्यवस्थापन गर्ने गिरोहसँग सम्पर्क रहेको पाइएपछि विभागले होटल भियनामा छापा मारेको हो ।
पक्राउ परेका ती व्यक्तिको संलग्नता पुष्टि हुने आधारहरु देखिएपछि पक्राउ गरेर सोधपुछ भइरहेको अनुसन्धानमा संलग्न एक अधिकृतले बताएका छन् ।
राजश्व अनुसन्धान विभागको टोलीले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँसपास गरी बाहिरिएको झण्डै एक क्विन्टल सुन सिनामंगलबाट बरामद गरेको थियो । सो समय क्रममा विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।
विभागका अधिकारीहरुले बताएअनुसार ब्रेक शुभित्र लुकाई छिपाई सुन नेपाल भित्र्याइएको थियो । सुन ल्याउने रेडी ट्रेड प्रा.लि.का सञ्चालक दोलखाका दिलीप भुजेललाई समेत विभागले पक्राउ गरेको छ ।
यद्यपि, तस्कर समूहले उनलाई २० हजार रुपैयाँ दिई ‘फर्जी’ सञ्चालकको रुपमा खडा गरेको अनुसन्धानका क्रममा खुलासा भएको छ । त्यसपछि यहीं काण्डमा एक जना चिनियाँ नागरिकसहित भारतीय मुलका तिब्बतीन नागरिकलाई समेत हिरासतमा लिइएको छ ।
अहिले सम्म सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका एजेन्ट र कर्मचारीसहित १८ जना पक्राउ परी सकेका छन् ।