
माघ २४ काठमाडौं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले दोषी, अपराधी र भ्रष्टाचारीले उन्मुक्ति पाउन नहुने बताएका छन्।
विराटनगर विमानस्थलमा शुक्रबार बिहान पत्रकारसँगको भेटघाटमा नेता नेपालले निर्दोष फस्न नहुने कुरामा जोड दिए।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले एमसीसीका विषयमा अनुचित शर्त रहन नहुने भन्दै यसका लागि छुट्टै एक कार्यदल बनेको र यसले यस विषयमा गहन अध्ययन गरिरहेको जानकारी दिए। इन्डोप्याफिक रणनीतिकै एउटा अंग हो कि भन्ने भ्रमलाई कार्यदलले हटाउने भन्दै उनले एमसीसी नेपालका लागि हित भएकाले यसलाई सरकारले स्वीकृत गर्नुपर्ने धारणा राखे।
वरिष्ठ नेता नेपालले हामीसँग राम्रो सम्बन्ध राख्ने मित्रराष्ट्रसँग सुमधुर सम्बन्ध बनाउन खोजेको चर्चा गर्दै संयुक्त राज्य अमेरिकाले आफ्ना जीडीपीको केही अंश अल्पविकसित राष्ट्रलाई दिनु अधिकारभित्र पर्ने बताए।
उनले वैदेशिक ऋण र लगानीलाई ‘समृद्ध राष्ट्र, सुखी नेपाली’ बनाउने महान अभियानमा योजनाबद्ध ढंगले खर्च गर्नुपर्ने उल्लेख गर्दै सरकारले आफ्ना कमीकमजोरीलाई सच्याउँदै अघि बढ्नुपर्ने बताए।
वरिष्ठ नेता नेपालले सरकारले मुलुकलाई सही ढंगले अगाडि बढाउनुपर्ने बताउँदै नेपालको वातावरण प्रदूषण न्यूनीकरणमा प्राप्त हुने वैदेशिक सहयोगलाई उचित ढंगले खर्च गर्नुपर्नेमा जोड दिए।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend