
माघ २५ काठमाडौं चीनको हुवेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको कोरोनाभाइरसले यतिबेला बिकराल रुप लिएको छ। कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या ७२२ पुगेको छ भने यसको ३५ हजारको हाराहारीमा संक्रमित भएका छन्।
कोरोनाभाइरसले जापान, अमेरिका, फ्रान्स, फिलिपिन्सलगायतका देशहरुमा समेत त्रास सृजना गरेको छ। यसैका कारण चीनमा एक अमेरिकी नागरिकको पनि मृत्यु भएको छ। हुवेई प्रान्तको राजधानी वुहानमा रहेकी अमेरिकी महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको चीनस्थित अमेरिकी दूतावासले पुष्टी गरेको छ ।
चीनमा यसले भयावह रुप लिइरहंदा विभिन्न देशले आफ्ना नागरिकहरुलाई चीनबाट फिर्ता लागेका छन् भने चीन भ्रमणमा सतर्क रहन आग्रह गरेका छन्।
यता नेपाल सरकारले पनि चीनमा रहेका नेपालीलाई फिर्ता ल्याउने तयारी गरिराखेको बताएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बद्ध मन्त्रालय र निकायहरुलाई छिटो भन्दा छिटो स्वदेश फिर्ता गर्ने बाताबरण बनाउन निर्देशन दिएका छन्। नेपाल आउन चाहनेहरुलाई शिवपुरी, इचङ्गुनारायण, सूर्यविनायक र खरिपाटीमा क्वारेन्टाइन स्थल व्यवस्थित गरी राख्न ओलीले निर्देशन दिएका हुन्। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले पनि चीनमा रहेका नेपाली विद्यार्थीलाई स्वदेश फर्काउन जहाज तयारी अवस्थामा राखिएको बताएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend