बुधबार, बैशाख ३१ २०८२

बुधबार, बैशाख ३१ २०८२

अन्धविश्वास कुप्रथा र संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ तर, सीमा नाघेर होइन

अन्धविश्वास कुप्रथा र संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ तर, सीमा नाघेर होइन


हिजो नियमित काम सकेर न्यूज तिर आँखा दौडाउदै थिएँ । “स्वस्थानी व्रत कथाका पानाहरू च्यात्नुपर्ने” न्यूजमा गएर टक्क अडिए म ।

धार्मिक पुस्तकहरु पुरुषहरुद्धारा रचिएका हुनाले त्यहाँ नारीलाई महत्व दिनुभन्दा दबाउने तिर नै बढी सचेतता देखिन्छ । युगौंदेखि शासकहरूले आफ्नो स्वार्थपूर्तिका लागि समाजमा रोपिदिएको अन्धविश्वासको संस्कृति जादुको छडी चलाएझैं छु मन्तर गरेर हटाउन सम्भव छैन । हो, परापूर्वकालदेखि समाजमा चल्दै आएका कतिपय धर्म, संस्कृति र परम्पराहरू राम्रा छन् । त्यसको हामी सबैले संरक्षण गर्नुपर्छ । कतिपय समय सापेक्ष सुधार गर्नुपर्ने छ, त्यसलाई सुधार गर्दै लैजानुपर्ने हुन्छ भने कतिपय जबर्जस्ती भत्काउनुपर्ने पनि हुन्छ । परम्परा र धर्म सँस्कृतिको नाममा ७ बर्षे वालिका लाई ७० बर्षे बृद्धसँग पो विवाह गरिदिन पो भएन तर यस्को अर्थ किताव नै चात्नु किमार्थ हुदैन । धर्म, संस्कृति र परम्पराका नाममा यस्ता मानवताविरोधी कुराहरू बोकेर हिँड्नुहुँदैन ।

परम्परा भनेर सतीप्रथालाई राज्यले उन्मूलन नगरेको भए आजसम्म कति सतीको ज्यान जान्थ्यो होला ? आज हामी कल्पना पनि गर्न सक्दैनौं । तसर्थ, यस्ता अन्धविश्वास र कुप्रथाको अन्त राज्यले छिटोभन्दा छिटो गर्न सक्दछ ।

संविधानमा जे लेखिए पनि धर्म, संस्कृति र परम्पराको नाममा महिलामाथि हुने भेदभावलाई समाजले स्वीकृति दिँदै आएको छ । यौन हिंसा पुराणकालदेखी आजसम्म एक शताब्दी लामो संघर्षपछि पनि लैंगिक लगायत विभिन्न भेदभाव फरक-फरक रूप र प्रकृतिमा संसारभर कायम छ । नेपालको संविधानले शब्दमा समान अधिकार सुनिश्चित गरे पनि व्यवहारमा भने विभेद जारी नै देखिन्छ । नेपालको कुन संस्कृति र धर्मले महिलालाई सहानुभूति दिएको छ होला र ? तर त्यस्को मतलव हामिले मान्दै आएका रिती रिवाजलाई जरै देखि निर्मुल पार्नु हुदैन् । हरेक घटनाको जरा हाम्रो उत्पादन प्रणाली, शिक्षा, सामाजिक संरचना, लैंगिक विभेद, धार्मिक, सांस्कृतिक परम्परामा गएर गहिरोसँग गाडिएको छ । स्वास्थानी पुस्तकमा भएका केहि कुराहरु विभेदकारी छन् । परापुर्व कालदेखि चलि आएको यस्लाई समयसँगै परिमार्जित गर्दै लानु पर्ने देखिन्छ ।

विश्व एक्काइसौं शताब्दीमा छ । ज्ञान, विज्ञान र प्रविधिको विकासले मानव सभ्यतामा अभूतपूर्व क्रान्ति भएको छ । पृथ्वी साँघुरो भएको अनुभूत गर्दैछ मान्छे । सायदनिकट भविश्यमा मान्छे अरू ग्रहमा बसाइँ सर्न सफल हुन्छन् होला । तर, विडम्वना ! हाम्रो देशका हामी नागरिक चरम अन्धविश्वासको अन्धकार युगमा बाँचिरहेका छौं ।

प्रत्येक दिन अन्धविश्वासका कारण कुनै न कुनै सानाठूला घटनाहरू समाजमा घटेकै हुन्छन् । कुनै घटनाले समाजमा बिग्रह पैदा गर्छ त कुनैले विभेद । कुनै घटनाले मान्छेको ज्यानै जान्छ त कुनै घटनाले धन सम्पत्तिको नोक्सानी गर्छ । देश र समाजलाई अघि बढाउन तगारो बनिरहेका अन्धविश्वासी संस्कृतिलाई अन्त्य नगरेसम्म समृद्धि कसरी आउन सक्दैन ।

चरम अन्धविश्वासको अन्धकार युगबाट नागरिकलाई विज्ञानको उज्यालो युगमा ल्याउने जिम्मा सरकारको हो । नागरिकको सोच र संस्कार परिवर्तनका लागि सरकार योजनावद्ध सशक्त कार्यक्रमहरू लिएर जनतामाझ जान जरूरी छ । साथै, आवश्यक नियम कानुन निर्माण गर्दै प्रभावकारी कार्यान्वयन गर्न पनि जरूरी छ ।

समाज परिवर्तनमा राजनीतिक पार्टीको भूमिका अहं हुनेगर्छ । किनकि, राजनीतिक पार्टी भनेको समाज परिवर्तनको मुख्य साधन हो । समग्र समाज परिबर्तनको अगुवा राजनीति पार्टी र त्यसका नेता, कार्यकर्ता हुनु पर्दछ । तर, हाम्रो देशका राजनीति पार्टी र त्यसका नेता, कार्यकर्ताहरूको सांस्कृतिक चेतनास्तर हेर्दा दया नै लागेर आउँछ । समाज रूपान्तरणको लागि राजनीतिक पार्टीहरूले समयसापेक्ष नीति कार्यक्रमहरू निर्माण गर्ने र त्यसलाई अभियानात्मक रूपमा कार्यान्वयन गर्न जरूरी छ ।

त्यसैले सरकारी र गैरसरकारी संघ संस्थाहरू गाउँ-गाउँमा च्याउसरी खुलेका छन् र त्यसले बिभिन्न शीर्षकमा बार्षिक अरबौं बजेट बालुवामा पानी बगाएसरी खर्च गरिरहेका छन् । अब त्यस्ता संघ संस्थाहरूले पनि परिणाममुखी काम गर्न जरूरी छ । साथै, नागरिक समाज र त्यसका अगुवाहरूले पनि काठमाण्डौंको तारे होटलहरूमा केही मान्छे जम्मा गरेर उपदेश दिन बन्द गरी जनताबीच गएर चेतना प्रसार गर्न आवश्यक छ ।

अन्तमा, सामाजिक सीमा र मर्यादा उलंघन हुने क्रम बढ्दो छ । संस्कृतिको नाममा विकृति मौलाउँदो छ । मान्छेले आफूलाई सामाजिक प्राणीको रूपमा भन्दा केवल एउटा स्वतन्त्र व्यक्तिको रूपमा जीउनमा आनान्दानुभूति गर्न थालेका छन् । व्यक्तिको स्वतन्त्रता पक्कै सर्वोच्च हुनुपर्छ । तर, मान्छे सामाजिक प्राणी हुनाको नाताले उसको व्यक्तिगत स्वतन्त्रता, सामाजिक हित अधीनस्थ पनि हुनैपर्छ । सामाजिक नियम, कानुन, मर्यादा, ढोंग, बन्धन केही भएन भने नत्र मान्छे जंगली युगमा नै फर्कनेछ । साँच्चै निर्बन्ध हुन्छ मान्छे । पशु जस्तै ।

हाम्रो समाज पनि परिवर्तनको बाटोमा तीब्र गतिले दगुरिरहेको छ । कैयौं सकारात्मक परिवर्तनसँगसँगै केही नकारात्मक परिवर्तन पनि देखिएका छन् । जसको नियन्त्रणमा आजैदेखि लाग्नु सबै जिम्मेवार नागरिकको कर्त्तव‍य हो ।
यो ज्ञान र विज्ञानको शताब्दी हो । सूचना र प्रविधिको शताब्दी हो । प्रत्येक शिक्षित नागरिक समाजका एक जिम्मेवार अभियन्ता पनि हो ।अन्धविश्वास र कुप्रथाको संकीर्ण सत्ता विरूद्ध संघर्ष गर्नैपर्छ तर, सीमा नाघेर होइन

(लेखिका राधा पोखरेल नेपाल पुँजीबजार लगानीकर्ता संघकि अध्यक्ष समेत हुन् )

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend