
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कतिपय असम्भव लाग्ने विषयलाई जनयुद्धले सम्भव बनाएको जिकिर गरेका छन्। २५ औं जनयुद्ध दिवसका अवसर पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रदाञ्जलीसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्ध सम्भव होला भन्ने कसैले पनि नसोचेको र यसले संविधान सभा जन्माउने र गणतन्त्र नेपाल स्थापना गराउने जस्ता कुराहरुलाई सम्भव तुल्याएको बताए।
प्रचण्डले भने, ” राज्य र विद्रोही पक्ष फेरि शान्ति समझौतामा आउलान्, उनीहरुको सहकार्यबाट मुुलुकमा राजतन्त्र अन्त्य होला भन्ने पनि कुनैबेला असम्भवजस्तै लाग्ने विषय थिए, तर सही विचार र सही नेतृत्वले गर्दा नै त्यो सम्भव भयो। ”
जनयुद्धका बेला नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला र आफ्नो बीचमा दिनदिनै जस्तो कुरा हुने र कोइरालाले आफुँलाई ठूल्ठूला आक्रमण बढाउनु पर्यो भन्ने गरेको स्मरण गर्दै प्रचण्डले दलहरुबीचको संयोगले राजतन्त्रलाई समाप्त पारी देशमा संघीय गणतन्त्र ल्याउन सहयोग गरेको बताए।
कार्यक्रममा प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली उपस्थित भएनन्। त्यस्तै पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव कुमार नेपाल पनि उपस्थित भएनन्। कार्यक्रममा प्रचण्डसहित उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य राम बहादुर थापा लगायतको उपस्थिति कार्यक्रममा रहेको थियो।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend