मलेखु । धादिङको गजुरी गाउँपालिका-४ चौकीभञ्ज्याङका साइला चेपाङले डोको बुन्न थालेको ४५ वर्ष पुगेको छ । चोया काट्ने र डोको, भकारी, थुन्से, डालो बुन्ने दैनिकी अहिले पनि उस्तै छ । उनको घरको छानो भने अहिलेसम्म पनि फेरिएको छैन ।
आँगनको ढिलबाटै कच्ची सडक विस्तार भएर गाडी गुड्न थालेका छन् । गाउँमा खानेपानी र विद्युत्का क्षेत्रमा विकास हुँदैछ । डोको बेचेरै जीविकोपार्जन गरिरहेका चेपाङको खिया लागेका जस्ताको छानो फर्ने सपना भने अझै अधुरै छ ।
‘पहिला डोको, भकारी जतिपनि बिक्थ्यो । बोकेरै बजार लगेर रू १० मा बेच्दा पनि छोराछोरी पाल्न पुग्थ्यो’, चेपाङले भने, ‘अहिले बजारमा डोको बिक्न छोड्यो ।’
चौकीभञ्ज्याङ र आसपासका सबैको पुख्र्यौली पेशा डोको, डालो र भकारी बुन्ने भए पनि प्लास्टिकका सामग्रीले बजार भरिएसँगै निगालो र बाँसबाट बुनेका डोको घरमै थन्किएर बसेका उनले बताए ।
चेपाङ कतिले पुर्ख्यौली पेशा छाडेर विकल्प पनि खोजिसकेका भन्दै उमेरले ७० वर्ष नाघिसकेकाले पुर्ख्यौली पेशा छाडेर कहीँ जान सक्ने अवस्था नरहेको बताए । उनका अनुसार डोको बिक्न छोडेपछि आम्दानीको स्रोत टुटेको छ ।
डोको बुन्ने पेशाबाटै बालबच्चा हुर्काएका चेपाङलाई अहिले जीवन धान्नै मुस्किल भएको छ । ‘हाम्रो मात्र होइन गाउँमा सबैको मुख्य काम भनेकै डोको बुन्ने र बजारमा लगेर बिक्री गर्ने थियो । अहिले डोको, डालो र भकारी बुनेर घरखर्च चल्न छोड्यो, अरु पेशा गर्न उमेरले दिँदैन’, उनले भने, ‘अहिले डोको नै बिक्दैन । म बुढो मान्छे बजारसम्म पुर्याउन पनि सक्दिन । किन्न व्यापारी गाउँ आउदैनन् । पुर्ख्यौली पेशा भनेर मात्रै गरिरहेका हौँ । डोको बुनेर दुई छाकको जोहो गर्नै मुस्किल छ ।’
२०३५ सालतिर डोको बुनेर बिक्री गर्दा रू दशसम्म आम्दानी हुने गरेको अनुभव चेपाङले सुनाए । ‘त्यस समयमा रू दुईमा एक पाथी नून, रू छ मा एक लिटर खाने तेल पाइन्थ्यो । दैनिक १०-१२ वटा बेच्दा मनग्य आम्दानी हुन्थ्यो’, उनले भने, ‘अहिले बजारमा डोको बिक्री हुदैन । डोको बुन्ने, थुपार्ने र व्यापारी कुर्ने काम मात्र भइरहेको छ ।’ उनका अनुसार पहिला बजारको पनि कुनै समस्या थिएन ।
उनकी श्रीमती तिलकुमारी चेपाङले पनि डोको र भकारी बोकेर अन्नपात साटेको अनुभव सुनाइन् । ‘त्यतिबेला एउटा डोको साट्दा एक पाथी अन्न आउँथ्यो । पछि डेढ दुई सयमा बिक्न थाल्यो । त्यति हुँदा घरखर्च चलाउन सजिलो थियो’, तिलकुमारीले भनिन्, ‘अचेल त किन्ने मान्छे नै आउँदैनन् । भोलिपर्सी कतै माग भइहाल्यो भने बेचौला भन्ने झिनो आशा छ ।’
डोकोको आकार हेरेर रू तीन सयदेखि रू पाँच सयसम्म र खाङ्ग्रेको रू एक हजारसम्म बिक्री हुनुपर्ने नेवारबाँसका ४० वर्षीय रामबहादुर प्रजाले बताए ।
निकै सस्तो मूल्यमा दिँदा पनि डोको बिक्री हुन छाडेको उनको भनाइ थियो । ‘गाउँदेखि पृथ्वी राजमार्ग पुग्न चार घण्टा पैदल हिँड्नुपर्छ । ६ देखि बढीमा १० वटासम्म बोकेर लान सकिन्छ । बिक्री गर्न गजुरी, घाटबेँशी, मलेखु, आदमघाटसम्म लैजाने गरेका छौँ’, उनले भने ।
प्रविधिको विकाससँगै डोको बुन्नेको पेशा नै सङ्कटमा परेको जीतबहादुर चेपाङले बताए ।
पछिल्लो समय डोकोको प्रयोगमा नै कमी आएको उनको भनाइ थियो । ‘गाउँमा बाँस र निगालो प्रशस्त पाइन्छ । सबैले डोको बुन्न पनि जानेका छन्’, उनले भने, ‘अहिले गाउँमा सडक आइपुगेका छन् । मानिसले बोक्ने भारी सवारीले बोक्छन् । डोकोको प्रयोगको सट्टा अन्य प्लाष्टिकका सामग्रीको प्रयोग गर्ने धेरै छन् । यसले हाम्रो पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएको हो ।’
चौकी भञ्ज्याङ नेवारबासमा ९२ घर परिवार छन् । उनीहरुको मूख्य पुर्ख्यौली पेशा डोको बुनाइ हो । तर पछिल्लो समय डोको बिक्न छाडेपछि उनीहरुले विकल्प खोज्न थालेका छन् ।