कठमाडौँ । भदौ २७ गतेदेखि १४ वर्ष उमेर पूरा भएका र १५ वर्ष ननाघेका किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर बिरुद्धको खोप लगाइने भएको छ । स्वास्थ्य सेवा विभागले पाठेघरको मुखको क्यान्सर रोगको रोकथाम गर्न यो रोग बिरुद्धको २० हजार मात्रा एच।पि।भि। खोप लगाउन लागेको जानकारी दिएको हो ।
विभाग अन्तर्गत बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा।अभियान गौतमले हाल उपलब्ध भएको एचपिभि खोप ६ महिनाको अन्तरालमा २ मात्रा लगाउनुपर्ने बताए । उनले एच.पि.भि.खोप दुई मात्रा पूरा गरेमा लक्षित गरेको प्रजातिबाट हुने संक्रमणबाट ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गरिने बताए ।
यो खोप यौन सम्पर्क हुने उमेर भन्दा पहिले नै दिएमा बढी प्रभावकारी हुने विभिन्न अध्ययनले देखाएको छ । पहिलो मात्रा खोप लगाउँदा उमेर खुल्ने आधिकारिक प्रमाण, दोस्रो मात्राको हकमा पहिलो मात्रा लगाएको खोप कार्ड आवश्यक पर्ने बताए ।
साधारणतया एच।पि।भि खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने वा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने,रिगंटा लाग्ने, ज्वरो आउने, एलर्जी रियाक्शन हुने भएपनि यी असरहरु सामान्य मात्रै भएको बताए ।
निकट भविष्यमा १० देखि १४ वर्ष सम्मका सबै किशोरीलाई खोप लगाउने गरी राष्ट्रिय स्तरको नियमित खोप कार्यक्रममा समावेश गरी नियमित खोप चल्ने स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने जानकारी दिए । एच।पि।भिले महिलाहरुको पाठेघरको मुखको क्यान्सरको साथै यौनाङ्गमा आउने मुसा तथा यौनाङ्गको क्यान्सर समेत गराउन सक्ने बताए ।
उनले पाठेघरको मुखको क्यान्सरको शुरुको अवस्थामा धेरै जसोमा लक्षण नदेखिएपनि अन्तिम अवस्थामा मात्र पहिचान हुनसक्ने बताए । संक्रमण हुँदा पछि गएर तल्लो पेट दुख्ने, अनियमित रुपमा रगत बग्ने, धेरै रगत बग्ने, गन्हाउने पानी बग्ने, कमजोर हुँदै जाने र रक्त अल्पता जस्ता लक्षणहरु देखिने बताए ।
एचपिभि मुख्यतः संक्रमित व्यक्तिसँगको यौन सम्पर्कबाट सर्ने र यो संक्रमित व्यक्तिको यौनाङ्गको छाला श्लेष्म झिल्ली वा तरल पदार्थसँगको सम्पर्कमार्फत पनि सर्नसक्ने डा।गौतमको भनाई छ ।