
फागुन ३ काठमाडौँ – विराटनगर महानगरपालिका-४ को विराटनगर-धरान सडक खण्डमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना विद्यार्थीको आज मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरबाट इटहरीतर्फ गइरहेको को १ ख ७३०९ टिपरले र सोही दिशातर्फ गइरहेको प्र २–०१–००१ प १६०८ नम्बरको मोटरसाइकललाई महानगर स्वागतद्वारस्थित ठक्कर दिँदा दुई जनाको मृत्यु तथा एक जना घाइते भएका छन्।
मृत्यु हुनेमा सप्तरीको पतरा निवासी २२ वर्षीय हरेराम साह र सिरहा जिल्ला सुखीपुरका १९ वर्षीय ओजिर रायन रहेका छन्। दुर्घटनामा सप्तरीको रुपनी निवासी २० वर्षीय धनराज यादव घाइते भएको प्रहरीले जनाएको छ। तीन जना सवार मोटरसाइकल ओभरटेकका क्रममा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो। ती विद्यार्थी गोल्डक पार्क कलेजमा ओभरसिरयरमा अध्ययनरत थिए।
घाइते यादवको प्रादेशिक (कोशी) अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend