काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मन्त्रिपरिषदका सदस्यहरुसँग समसामयिक विषयमा छलफल गर्नुभएको छ । रक्षामन्त्रालयमा सोमबार सबै मन्त्रीहरुसँग छलफल गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले आ–आफ्नो मन्त्रालयको काम जनतालाई सन्तुष्ट हुनेगरी कार्यसम्पादन गर्न निर्देशन दिनुभयो ।
सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेका बेला पनि जनतासँग जोडिएका र सेवाप्रवाहका काममा कुनै गुनासो नआउने गरी काम गर्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा कार्यवाहक प्रधानमन्त्री खड्काले देशको शान्तिसुरक्षामा खलल पु¥याउने र नागरिकमा वितृष्णा फैलाउने तत्वहरु सक्रिय हुन खोजेकाले त्यसप्रति सजग भई सबै मन्त्रालयले काम गर्नुपर्ने आग्रह गर्नुभयो ।
साथै संविधान दिवस र नजिकिँदै गरेका चाडपर्वहरुमा शान्ति–सुरक्षादेखि बजारको आपूर्तिमा सहजता ल्याउँदै कालोबजारी र महंगी नियन्त्रणमा नतिजा आउनेगरी तथा आम नागरिकले राहत महसुस गर्नेगरी समयसीमा तोकेरै सबैले काम गर्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै, छलफलमा सबै मन्त्रालयको कार्यसम्पादन बढाउने र जनतालाई प्रदान गर्ने सेवाप्रवाह थप चुस्त, दुरुस्त र प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा चाडपर्वको बेला सवारी आवागमन बढ्ने भएकाले सडक सुधार तथा सुरक्षालाई थप प्रभावकारी बनाउन तत्काल कार्ययोजना बनाई महत्त्वका साथ सरकारले लाग्नुपर्नेमा कार्यवाहक प्रधानमन्त्री खड्काले जोड दिनुभयो ।
छलफलमा सहभागी उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायत सबै मन्त्रीहरुले नागरिकको दैनिक जीवनसँग जोडिएका शान्ति–सुरक्षालगायत बजारको आपूर्ति व्यवस्थाबारे आ–आफ्नो मन्त्रालयबाट हुने काममा कुनै कसर बाँकी नराख्ने गरी काम गर्ने प्रतिबद्धता जनाउनु भएको थियोे ।