
फागुन १३ काठमाडौं -उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकार सम्मेलन गर्दै नेपाल ट्रष्टको नाममा रहेको चल अचल सम्पत्ति विवरणबारे श्वेतपत्र जारी गरेका छन्।
पोखरेलले उक्त विवरण सार्वजनिक गर्दै ‘यस सम्बन्धमा विभिन्न प्रश्न उठेकाले’ तथ्य विवरण सार्वजनिक गरिएको बताए। सार्वजनिक गरिएको विवरणअनुसार नेपाल ट्रष्ट अन्र्तगत हालसम्म मुलुकभरका १२ जिल्लामा करिब २१ हजार ५ सय ६२ रोपनी ४३ आना २ पैसा १ दाम क्षेत्रफलको जग्गा ट्रष्ट मातहत रहेको छ। ट्रष्टका नाममा ७८ करोड नेपाली रुपैयाँ, १ लाख ४८ हजार अमेरिकी डलर र ५० हजार पाउन्ड समेत रहेको छ।
तत्कालिन राजा वीरेन्द्रको परिवारका नाममा रहेको २१ हजार ५६२ रोपनी जग्गा नेपाल ट्रष्टको स्वामित्वमा आएको श्वेतपत्रमा उल्लेख छ। ट्रष्टको सबै भन्दा बढी ४ हजार ४४२ रोपनी जग्गा काठमाडौंमा रहेको छ। नियम अनुसार नै लिज नविकरण गरिएको र दिइएको पोखरेलले बताए। गोकर्ण रिर्सोटको म्याद अवधी पनि नियम अनुसार ट्रष्टलाई फाइदा पुग्नेगरी गरिएको उनले बताए।
ट्रष्ट सम्पत्ति खोज्ने काम पनि भइरहेको पोखरेलले बताए। २०६४ सालमा नेपाल ट्रष्ट बनाएर राजा वीरेन्द्र र उनका परिवारको नामबाट सम्पत्ति ट्रष्टमा ल्याइएको थियो। ट्रष्टको जग्गामध्ये अहिलेसम्म १७४ रोपनी जग्गा मात्र गुमेको र उक्त जग्गा फिर्ता ल्याउनका लागि काम भइरहेको पोखरेलले बताए।
बाबुराम भट्टराई नेपाल ट्रष्टको संरक्षक र विजयकुमार गच्छदार अध्यक्ष रहेका बेला २०६९ साल कात्तिक २ गते मन्त्रिपरिषद बैठकबाट करिब १७३ रोपनी जग्गा मोही तथा उनीहरुको हकवालाका नाममा नामसारी गरिएको नेपाल ट्रष्टका अध्यक्ष ईश्वर पोखरेलले मंगलबार जारी गरेको श्वेतपत्रमा उल्लेख छ ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend