काठमाडौँ । काठमाडौँ मेडिकल कलेजले रसुवाको गौकुण्ड गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत उक्त मेडिकल कलेजले वाईपेन युएन प्रोजेक्ट नेपालसँगको सहकार्यमा गौकुण्ड गाउँपालिका–३ मा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।
उक्त निःशुल्क स्वास्थ्य शिविरमा सात सय ५३ जनाको स्वास्थ्य जाँच गरिएको काठमाडौँ मेडिकल कलेजका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार उक्त शिविरमा एक सय १ जनाको इसिजी, एक सय २७ जनाको भिडियो एक्सरे एक सय २२ जनाको ल्याब परीक्षण गरिएको छ ।
शिविरमा आएका १३ जनाको दाँत खोलिएको र ४४ जनालाई थप उपचारका लागि ओटी रेफर गरिएको जनरल मेनेजर दाहालले बताए । नेपाली कांग्रेसका प्रभावशाली सांसद डाक्टर सुनिलकुमार शर्माको उक्त मेडिकल कलेजले बिगत तीन वर्षदेखि देशका बिभिन्न दुर्गम गाउँ गाउँमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।
यसरी सञ्चालन गरिएका सिविरहरुबाट हजारौँ नागरिक लाभान्वित भइरहेका बताइएको छ । स्वास्थ्य सेवा आम नागरिकको घरदैलोसम्म पुग्नुपर्छ भन्ने सांसद शर्माको भावना अनुरुप नियमित रुपमा निःशुल्क स्वास्थ्य शिविर गरेको केएमसीकी कार्यकारी अध्यक्ष सोइना शर्माले बताइन् ।
नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, स्त्री तथा प्रसुति, बाल रोग सम्बन्धी केएमसीका दक्ष चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले सेवा दिने गरेका छन् ।
स्वास्थ्य संस्थाहरु सहरमुखी र पैसामुखी भए भन्ने आरोप लागिरहँदा केएमसीले भने गाउँगाउँ पुगेर सर्वसुलभ शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको कार्यकारी अध्यक्ष शर्माको दाबी छ ।