
फागुन १६ काठमाडौं: काखमा बच्चा बोकिरहेकी महिलालाई एक प्रहरीले लाठीले हानेको भिडियो सामाजिक सञ्जालहरुमा भाइरल बनेको छ। भिडियोमा इन्सपेक्टरले काखमा बच्चा बोकिरहेकी महिलालाई लाठीले प्रहार गरेको देख्न सकिन्छ। नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी हेम खत्री र माला शाह नामक महिलाबीच भएको विवादका क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले अर्की महिलालाई लाठीचार्ज गरेका हुन् । माला शाही तिनै महिला हुन् जसले खत्रीसँग आफ्नो पुरानो सम्बन्ध रहेको बताउंदै आएकी छिन।
शाहीले आफूलाई श्रीमती नस्वीकारेको भन्दै दलबल लिएर उनको घर गएकी थिइन्। ती महिला चार महिनादेखि यसरी नै खत्रीको घरअगाडि ‘धर्ना’ दिइरहेकी छन्। घरबाहिर महिलाहरू भेला भएको देखेपछि खत्रीले प्रहरीलाई खबर गरे। केहीबेर प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी खत्रीको घरमा पुगे। घरअगाडि महिला भेला भएका थिए, नियन्त्रण गर्न पुरूष प्रहरी पनि गएका थिए। प्रहरीले महिलाहरूलाई त्यहाँबाट हटाउन खोज्यो। नमानेपछि बल प्रयोग गर्यो। त्यही क्रममा इन्स्पेक्टर देवीप्रसाद पौडेलले पनि लाठी चलाए।
प्रहरीका अनुसार गत कात्तिक २७ गते भैँसेपाटीमा आफूलाई तीन जना महिलाले पिटेको भन्दै खत्री प्रहरीकहाँ उजुरी लिएर पुगेका थिए। उजुरी मालाविरुद्ध पनि थियो। कात्तिक २८ गते प्रहरी सम्पर्कमा आएकी मालाले आफू २२ वर्षदेखि खत्रीकी प्रेमिका रहेको र डेरा लिएरै राखेको तर पछिल्लो समय आफूलाई छाडेर हिँडेको बताएकी थिइन्।तर खत्रीले भने द्वन्द्वको समयमा शाही आफ्नो एक जना सूचक मात्र भएको दाबी गरेका छन् । त्यसबाहेक कुनै सम्बन्ध नरहेको उनको भनाइ छ। घटनाबारे थप अनुसन्धान भैरहेको ललितपुर प्रहरीले जनाएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend