
फागुन २१ काठमाडौं भारत सरकारले औषधि र भिटामिनहरुको निर्यातमा प्रतिबन्ध लगाएको छ। कोरोना भाइरस संक्रमणले आफ्नो मुलक संकटमा फस्न सक्ने र उक्त समयमा औषधि अभाव हुन नदिन भारतले यो निर्णय गरेको विदेश व्यापार महानिर्देशनालयले जनाएको छ।
प्यारासिटामोल, भिटामिन बी१, भिटामिन बी२, भिटामिन बी१२ र तिनको निर्माणका लागि आवश्यक पर्ने रसायनहरु समेतमा भारतले प्रतिबन्ध लगाएको हो।
यो प्रतिबन्धसंगै नेपाल प्रभावित हुने भएको छ। प्रतिबन्धित औषधीमध्ये धेरैजसो नेपालमा भारतबाट आयात गरिन्छन्। चालु आर्थिक वर्षको सात महीनामा मात्रै नेपालमा १८ अर्ब ५९ करोड ९० लाख ५९ हजार रूपैयाँकाे औषधीको आयात भएको छ। त्यसमध्ये भारतबाट ६३ लाख ८० हजार रुपैयाँ बराबरको भिटामिन बी१ आयात भएको छ। त्यस्तै १७ लाख ४० हजार रुपैयाँको भिटामिन बी६ र १ करोड १४ लाखको भिटामिन बी१२ आयात भएको छ।भारतमा अहिलेसम्म २८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
भारतले अत्यावश्यक औषधि र त्यसको कच्चापदार्थको निर्यातमा नियन्त्रण गरेपछि नेपालले आफ्नो हकमा त्यस्तो कडाइ नगर्न दिल्लीलाई अनुरोध गरेको अधिकारीहरूले बताएका छन्।
हाल बाङ्लादेशमा रहेका नेपालका वाणिज्य सचिव बैकुन्ठ अर्यालले आफ्ना भारतीय समकक्षीसँग टेलिफोनमा कुराकानी गरि नेपालमा औषधिहरूको आपूर्ति नरोक्न अनुरोध गरेको वाणिज्य मन्त्रालयका एकजना सहसचिवले बीबीसीलाई बताए।भारतले २६ प्रकारका औषधि र तिनका कच्चापदार्थको निर्यात नियन्त्रण गर्ने बताइरहँदा त्यसले नेपालमा अत्यावश्यक औषधिहरूको अभाव हुनसक्ने ठानिएको छ।तर अधिकारीहरूले कम्तीमा तीन महिनासम्म पुग्ने मौज्दात देशभित्र उपलब्ध रहेको भन्दै आत्तिनुपर्ने अवस्था नरहेको जनाएका छन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend