logo

२०८० फाल्गुन १३ आइतबार

logo
  • आइतबार, १३ फाल्गुन २०८०
  • तिलक सापकोटा : निष्ठाका एक सगरमाथा

    तिलक सापकोटा : निष्ठाका एक सगरमाथा

    5.2K
    Shares
    तिलक सापकोटा : निष्ठाका एक सगरमाथा

    एकराज पाठक ।

    विसं २०१५ मा बागलुङ जिल्लामा विपी कोइरालालाई आउँदैछन् रे भन्ने थाहा पाएपछि एक १४ वर्षे किशोर एक्लै जिल्लाको दक्षिणी विकट देमकबाट बागलुङ बजारसम्मको यात्रा तय गर्छ ।

    बडो अनौठो लाग्छ अहिले सम्झिँदा । त्यसो त अहिलेको पुस्ताले त्यो अप्ठेरो ‘फिल’ नै गर्दैन, किनभने उसँग साधन छ, उसका लागि २० किलोमीटरको यात्रा कठिन छैन । तर यो आलेखमा लिइएको यो प्रसंग आजभन्दा ६५ वर्षअघिको पश्चिम नेपालको हो, अझ बागलुङको । दमेकबाट घन्टौँ हिँडेर बागलुङ बजारसम्म पुग्नुहुन्छ उहाँ । तर एक्लै ।

    त्यस बेला त्यो अशाक्षर ठाउँको १४ वर्षे किशोरलाई विपी कोइरालालाई भेट्न जाने मनको हुटहुटी, साहस कसरी आयो ? फेरि विपी जिल्लामा आउने खबर नै उहाँलाई त्यो विकट स्थानमा कसरी थाहा भयो ? विपीलाई उतिबेला उहाँले कसरी चिन्नुभयो र उनलाई भेट्न किन चाहनुहुन्थ्यो ? त्यस समयको बागलुङ पक्कै पनि राजनीतिक रुपमा त्यति जागरुक थिएन होला । त्यो पनि सदरमुकाम नभएर बिकट दमेकमा ।

    साहसी, समाजसेवी र राजनीतिज्ञ तिलक सापकोटासँग भेट भयो कि प्रायः यो प्रसंग कोट्याउथेँ मैले । किनभने मेरो त्यो उमेर ४० को दशकमा पनि बागलुङ यात्रा सहज थिएन । साथी नभइ गइदैनथ्यो, घरबाट जाने अनुमति पनि हुदैनथ्यो । अझ मलाई त बागलुङ बजारसम्म पुग्न उहाँलाई भन्दा केही नजिक नै थियो । अनि त्यस समय उहाँमा विवीप्रतिको जानकारी र श्रद्धा कसरी आयो होला ? यहाँ विपी भेट्न किन खोज्नुभएको थियो ? प्रायः यो प्रश्न गर्थेँ मैले । काँग्रेस पार्टीमा लागेर एक १४ वर्षे किशोरले आफ्नो गाउँठाउँ र देशमा केही गर्ने सोच पलायो । वीपीसँगको पहिलो भेट्मै उहाँ प्रभावित हुनुभएछ ।

    उहाँको प्रस्तुति, बोली र सालिनताले मलाई उहाँको अनुयायी बन्ने रहर भित्रैदेखि पलायो भन्नुहुन्थ्यो सापकोटा । विपीसँगको भेटपछि देशमा सामन्ती प्रथाको अन्त्य गरी प्रजातन्त्र र समाजवादमार्फत् देशको विकास वीपीजस्ता व्यक्तिबाट मात्र सम्भव रहेको उहाँले देख्नुभयो । उहाँको भित्री आँखाले अब काँग्रेस भएरै देशको विकास गर्ने दृश्य छर्लङ्गै देख्यो र उहाँ विपीवादमा होमिनुभयो ।

    त्यसो त उहाँको गाउँमा देश, राजनीति, शिक्षाप्रतिको चेतनाको विजारोपण उतिबेलै भइसकेको थियो । गाउँ विकट र असाक्षर थियो तर उहाँका पिता भूमिश्वर सापकोटामा भने एक प्रकारको अद्भूत चेतना थियो । उहाँले विसं २०१३ मा दमेकको आफ्नै गोठलाई बारेर विद्यालयल शुरु गरी आफ्नै छोरा तिलकका साथै अरु पनि गाउँका केटा उठाएर पढाउन थाल्नुभयो । त्यहाँ पढेलेखेका कोही नभएकाले बाहिरबाटै शिक्षक झिकाउनुभयो ।

    जीवनमा आँखा देख्न पढ्नुपर्छ, नत्र यसैगरी खेती किसानीमै जीवन सकिन्छ भन्ने चेतना भूमिश्वरमा पलायो र विद्यालय नै शुरु गराउनुभयो । पछि केही गाउँका केटाहरु आए र वर्षेनी थपिँदै गएपछि सो विद्यालय सञ्चालन हुदै गयो । दमेकको रितिपमा स्थापित त्यही विद्यालय अहिले जिल्लाको एक उत्कृष्ट माध्यमिक विद्यालयका रुपमा छ । पछि २०१७ सालको राजा महेन्द्रको पञ्चायती कू पछि विपी जेल परे र उनका समर्थकहरुलाई खोज्ने क्रममा भूमिश्वर र तिलकलाई पनि जेल हालियो ।

    विपीलाई फासिदिनुपर्छ भन्ने कागजमा सही गरे छोडिदिने बाचा प्रशासनले गर्यो । तर आफ्नो मनमा गाडिएको विपीवादलाई कसरी फासी दिने कागजमा सही गर्न सक्नुहुन्छ ? त्यसो भन्न नमानेपछि महिनौँसम्म राखेर उहाँहरुलाई कुट्दा प्रहरीले कैयौँ लौरा भाँचेका प्रसंग त्यस समयका शासकहरुले पछिसम्म पनि सुनाउने गरेका थिए । उहाँजस्तो निडर, प्रतिबद्ध र निस्वार्थी राजनीतिज्ञलाई हाम्रा कुनै अस्त्रले पनि गलाउन सकेनौँ, बेतबाँसका लौरा भाँच्ने काम मात्र भयो भनेर पछि पनि जिल्लाका शासकहरुले भन्ने गरेका थिए ।

    उहाँ समय समयमा विपीलाई भेट्न गइरहनुहुन्थ्यो ।उहाँलाई विपीसँगको भेटले राजनीतिक कर्ममा लाग्न प्रेरित गथ्र्यो, समाजसेवामा लाग्न थप उर्जा मिल्थ्यो । वीपीलाई भेट्न भारत गएका तिलकलाई एकपटक वीपीले भनेका थिए– राजनीति गर्न सबै पार्टीमै लाग्नुपर्छ, पार्टीकै या राजनीतिकै सभा, सम्मेलन गर्नुपर्छ भन्ने छैन । आफू रहेका ठाउँका अर्थात् आफ्नो गाउँ ठाउँका नागरिकका समस्या र आवश्यकताको सम्बोधन गरेर समाज सेवा गरे पुग्छ ।

    यसले पनि सापकोटालाई सामाजिक संघसंस्थाहरु स्थापना गरी यसैबाट नागरिक एकतामार्फत् जनबल सिर्जना गर्ने र नागरिकमा जागरुकता ल्याउने काममा प्रेरणा मिलेको थियो । गैंडाकोटमै २०३३ सालमा स्याउलाले छाएर सुरु भएको कालिका संस्कृत विद्यापीठमा आज आयुर्वेद र संस्कृत पढाइ हुन्छ । अहिले यसैलाई नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत आंगिक बनाएर थालिएको छ, जुन उहाँको एउटा सपना थियो ।

    नेपालबाट गुन्द्रुकको भाउमा जडीबुटी विदेशिने र यता बन्द शिशीमा औषधि बनेर सुनको मूल्यमा भित्रिने गरेको देख्दा उहाँको मुटु पोल्ने गर्दथ्यो । बारम्बार उहाँले यी कुरा मसँग भन्नुहुन्थ्यो । देशमा बढीभन्दा बढी मात्रामा आयुर्वेदको पठन पाठन गर्ने र यहाँका अलौकिक औषधीय मूल्य बोकेका जडिबुटीबाटै हामीलाई चाहिने औषधि बनाउन सके हामी माथि लाग्नेछौँ भन्ने उहाँको सोच थियो । त्यसैले यो विद्यापीठका लागि उहाँ वर्षाैँदेखि लाग्नुभएको थियो । विपीको यही प्रेरणाले हुनसक्छ तिलक सापकोटाले आफ्नो एउटा विशिष्ट पहिचान कुशल संगठक र समाजसेवीका रुपमा बनाउनुभयो ।

    उहाँले दर्जनौँ सामाजिक र शैक्षिक संघसंस्था खोल्नुभएको छ । आज गैंडाकोट क्षेत्रमा विजय सामुदायिक शिक्षा सदन (२०५८), विजय एफएम (२०६४), कालिका संस्कृत विद्यापीठ (२०५९), बिकु बचत तथा ऋण सहकारी संस्था सञ्चालनमा छन् । त्यसो त गैंडाकोटलाई बस्न लायक नै उहाँ र उहाँका पिताजी भूमिश्वास सापकोटाको अथक प्रयासबाट भएको हो । २०३० कै दशकमा व्यक्तिगत रुपमा ऋण लिएरै गैंडाकोटमा कुलो ल्याउने काम नभएको भए सायद यो स्वरुपमा गैंडाकोट देख्न सकिँदैनथ्यो होला । त्यसैले उहाँहरु गैंडाकोट म्यान भन्दा उहाँको सत्कर्मले अहिले पनि न्याय पाउँछ ।

    विपीले राजनीतिकर्मीले समाजसेवा गर्नुपर्छ भनेको प्रेरणाबाट सुरु भएको समाजसेवाको स्वरुप हो यो । काँग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले विसं २०२८ मा गैंडाकोटमा नेवि संघको महाधिवेशन हुँदादेखि जनमत संग्रहका लागि भारतबाट फर्केर नेपाल आएका विपीसँगै तिलकलाई चितवनमा भेटेको प्रसंग स्वर्गीय सापकोटाको डायरी ‘यात्रा निरन्तर’ मा उल्लेख गर्नुभएको छ । सापकोटालाई ‘जहिल्यै पनि आफ्नोभन्दा पार्टीको चिन्ता गर्ने कार्यकर्ता र काँग्रेसमा पूर्णतया समर्पित मिलनसार साथी’ को रुपमा देउवाले चित्रण गर्नुभएको प्रसंग देउवाकै भाषामा सो पुस्तकमा संग्रहित छ ।

    त्यति पुरानो र निस्वार्थी इतिहास बोकेका व्यक्तिलाई काँग्रेस पार्टीले दिएको स्थान हेर्ने हो भने जतातातै अन्याय मात्र भेटिन्छ । उहाँलाई नै पञ्चायतकालमा काँग्रेस भनेर, अराष्ट्रिय तत्व भनेर खेदेका व्यक्ति नै पछि बहुदलीय व्यवस्था आएपछि सांसद, मन्त्री बन्नेजस्ता कामले उहाँकै कार्यक्षेत्रमा पनि निकै अपमानित गरेको मैले महसुस गरेको छु । सापकोटालाई विसं २०६४ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले बालुवाटारमा बोलाउनुभएको थियो ।

    त्यो संविधानसभा निर्वाचनको बेला थियो । उहाँले आफूलाई उहाँकै शब्दमा ‘गिरिजा बाबु’ बाट बोलावट आएको कुरा निकै उत्साहसाथ मसँग पनि भन्नुभएको थियो । चुनावको बेला छ टिकटको लागि होला भनेर मैले पनि अनुमान गरेँ र उहाँलाई यो कुरा भनेँ पनि । उहाँपनि आसावादी नै हुनुहुन्थ्यो । तर १४ वर्षको उमेरदेखि पार्टीमा जीवन अर्पिएका उहाँले पार्टीमा कुनै स्थान नपाएकाले त्यति आशावादी नदेखिए पनि यसपाली भने उहाँले आशा गर्नुभएको थियो ।

    तर उहाँलाई कोइरालाले भन्नुभएछ ‘अब राजनीतिमा शशांकलाई इस्टाब्लिस गर्नुपयो, तिम्रोे क्षेत्र सुरक्षित देखेर मैले तिमीकहाँ पठाएको छु । सकेको सहयोग गरिदेऊ, म तिमीलाई हेर्छु ।’ पहिला पनि पार्टीले केही नहेरेकाले अब हेर्नेमा उहाँलाई विश्वास थिएन । यसै फर्किनुभयो । पछि गैंटाकोट पुगेपछि मात्र मेरो फोनमा कुरा भयो । कुनै प्रजातन्त्र सेनानीले जीवनभर दिलोज्यान लगाएर निर्माण गरेको क्षेत्र काँग्रेसका लागि सुरिक्षत त भयो तर उसका लागि के भयो त ? पार्टी जीवनका यस्तै आत्माहरुको सम्मान गर्न नसकेर होला सायद अहिलेको काँग्रेसको यो अवस्था ।

    पार्टीका लागि जीवन आहुती दिएको त्यो धरोहरको मनले त्यो क्षणलाई कसरी सहन गर्न सक्यो होला ? सायद अहिलेको कुनै राजनीतिकर्मीले त्यो सहन सक्दैन । तर उहाँ आफैँ निर्वाचनमा लाग्नुभयो, कोइरालालाई जिताउनुभयो र पछि प्रधानमन्त्री कोइरालालाई बालुवाटारमै पुगेर ल मैले यहाँले दिनुभएको ‘असाइन्मेन्ट’ पूरा गरेँ है भनेर जानकारी पनि गराउनुभयो ।
    काँग्रेसको संगठन निर्माणकै कारण सापकोटा पञ्चायती नजरमा ‘राज्यद्रोही’ बनेर २०४१ जेठ महिनादेखि केही वर्ष भैरवहा, परासी र पाल्पा जेलमा थुनामा पनि पर्नुभएको थियो ।

    उहाँले पञ्चायती शासकबाट पटक पटक जेल सजायँ पाउनुभएको छ । पार्टीमा संगठक बनेर लागेका उहाँ यही कारण आफ्नो पुस्तैनी थातथलो छोड्नुपर्ने अवस्था पनि आयो र पछि नवलपरासीको गैंडाकोट उत्रिनुभयो । २०२८ सालमा गैंडाकोट पुगेर आफ्नो राजनीतिक जीवनलाई निरन्तरता दिनुभयो, जहाँ पिताजीको साथ र सहयोगले उहाँलाई राजनीतिक जीवन हाँक्न सजिलो पनि बनायो । उहाँजस्ता निस्वार्थी पार्टीका सिपाहीहरुको सत्कर्मको मलजलले नै नेपाली काँग्रेसको रुख झाँगिएर देशैभरि हाँगाबिँगा फैलाउन सक्ने भएको हो ।

    यसको मूल्यांकन काठमाडौँको काँग्रेसले नगरेपनि देशैभरका काँग्रेसजनले भने गरिरहेकै छन् । उहाँको पदचाप पछ्याउन सकेमा मात्र विपीले परिकल्पना गरेको समाजवादी र प्रजातान्त्रिक काँग्रेस सम्भव छ र यही काँग्रेसबाट मात्र देश र जनताको हित सम्भव छ । उहाँको जीवन जान्ने जोकोहीले पनि उहाँलाई अध्ययन गरेपछि निकाल्ने निष्कर्ष यही हो । आफ्नो निष्ठा, समर्पण र इमान्दारिताले आर्जन गरेको बैभवमै रमाएर आफ्नो जीवन अर्पण गरेका उहाँजस्ता विपीका सच्चा अनुयायीबाट अहिलेको पुस्ताले के सिक्ने ? उहाँ निरन्तर यात्री हो, चुपचाप निरन्तर यात्री ।

    भनिन्छ, फुलको बास्ना डाँडावारि, मान्छेको बास्ना डाँडापारि । पार्टी र काठमाडौँमा रहेको नेपालले तिलक सापकोटा र उहाँजस्ता हजारौं समाजसेवीलाई नचिने पनि उहाँका कामले उहाँको बास्ना कैयौँ डाँडापारिसम्म छरिदिएको छ । मानिस सत्कर्मले नै अमर हुने हो । उहाँ मानवीय जीवनमा हुनुपर्ने निष्ठाको एक सिंगो सगरमाथा नै हुनुहुन्थ्यो ।

    विसं २०७९ कात्तिक २८ गते बैकुण्ठधाम प्रस्थान गर्नुभए पनि आफ्ना अमरकृति र समाजसेवाले हामी सबैका मनमनमा अजर र अमर हुनुहुन्छ । यस्ता निष्ठाका सगरमाथालाई भावपूर्ण श्रद्धाञ्जलीसहित आज हजुरको जन्मदिनमा यी समर्पण शब्दका साथ ह्पाप्पी बर्थ डे मामा । (पाठक राससका प्रधान सम्पादक हुनुहुन्छ ।)


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend