काठमाडौं। नेपाली डाक्टरको नेतृत्वमा नेपालमै कलेजो प्रत्यारोपण सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता पाएको हो ।
८ वर्ष अगाडि नेपालमै कलेजो प्रत्यारोपण सुरु भए पनि प्रत्यारोपणको लागि विदेशी डाक्टर आउनु पर्ने वाध्यता भएकोमा अहिले प्राध्यापक डा. रमेशसिंह भण्डारीको नेतृत्वमा नेपाली चिकित्सकद्वारा कलेजोको सफल प्रत्यारोपण भएको हो।
योसँगै अब नेपालमा कलेजो प्रत्यारोपणका लागि विदेशी डाक्टर आउनुपर्ने अवस्थाको अन्त्य भएको छ । डा. भण्डारीको टिमले नुवाकोटका ४१ वर्षिय बिरामीलाई बिरामीकी श्रीमतीको कलेजो प्रत्यारोपण गरेका हुन् । प्राध्यापक डा. भण्डारीका अनुसार कलेजो प्रत्यारोपित बिरामीको श्रीमान श्रीमती दुबै जना आजै डिस्चार्ज भइसकेका छन् ।
नेपाली चिकित्सकको टोलीले पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने सफलता प्राप्त गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड , पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. भण्डारी र उनको टिमलाई सामाजिक सञ्जाल मार्फत बधाई समेत दिएका छन।