चितवन । माघ विश्वरक्तदाता तथा रक्तदान उत्प्रेरक अर्जुनप्रसाद मैनालीले दुई सय छ पटक रक्तदान गर्नुभएको छ । ब्लड डानर्स सोसाइटी नेपालले आइतबार आयोजना गरेको रक्तदानसम्बन्धी उत्प्रेरणा अभियानअन्तर्गत विशेष रक्तदान कार्यक्रमका अवसरमा प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरमा उहाँले दुई सय छ पटक रक्तदान गर्नुभएको हो ।
मैनालीले सन् १९८७ देखि आफूले लगातार रक्तदान गर्दै आएको बताउनुभयो । उहाँका अनुसार उहाँले विश्वका विभिन्न देशहरुमा एक सय ३४ पटक रगत र ७२ पटक रक्ततत्व प्लेलेट्स दान गर्नुभएको छ । उहाँले भन्नुभयो, मैले विश्वका छवटै महादेशका २० देशमा दुई सय छ पटक रक्तदान गरेको छु, मेरो आफ्नै रगतले मात्रै छ सय १८ जनाको ज्यान बचाउन सहयोग हुन्छ ।
उहाँले सन् १९८६ मा काठमाडौँमा प्रमाणपत्र अध्ययन गर्दा जो थोमसको ‘द ब्लड डोनर’ कथा पढेपछि रक्तदान गर्न प्रभावित भएको बताउनुभयो । उन्नाइस वर्षको हुँदादेखि रगत दान गर्दै आउनुभएका मैनालीले ५६ वर्ष लाग्दै गर्दा दुई सय छ पटक रक्तदान गरिसक्नुभएको छ । उहाँले भन्नुभयो, “पहिलो पटक रक्तदान गरिसकेपछि को काठमाडौँमा प्रदर्शनीमार्गस्थित रक्तसञ्चार केन्द्रबाट आफ्नो रगत ओ पोजेटिभ समूह भएको थाहा पाएँ, आजसम्म दान गरेको रगतको परिणाम जोड्दा एक सय दुई लिटर हुन आउँछ ।
रक्तदानबारे उत्प्रेरणा जगाउने तथा रक्तदान कार्यक्रमको संयोजन गर्ने विभिन्न संस्थामा आबद्घ मैनाली हाल अमेरिका बस्दै आउनुभएको छ । मैनालीको जन्मस्थान काभ्रेपलाञ्चोकको सिपाली हो । उहाँले विश्वका विभिन्न देशमा पुगेर रक्तदान गर्न उत्प्रेरणा जगाउने अभियान चलाउँदै आउनुभएको छ । रासस