logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • पैसा अभावले उपचार नपाएर कोही मर्नुपर्दैछ : मन्त्री बस्नेत

    पैसा अभावले उपचार नपाएर कोही मर्नुपर्दैछ : मन्त्री बस्नेत

    987
    Shares
    पैसा अभावले उपचार नपाएर कोही मर्नुपर्दैछ : मन्त्री बस्नेत

    सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसा अभावकै कारणले उपचार नपाएर कोही नेपालीले मर्नुपर्ने अवस्था नआउने बताउनुभएको छ ।

    आज नेपाल शिक्षक संघ जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको २२औँ जिल्ला प्रतिनिधिसभाको बलेफी गाउँपालिका– ५ मा उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “पैसाको अभावमा उपचार नपाएर कोही पनि नेपाली मर्नुपर्ने छैन, पैसा नभएर पनि उपचार गराउने जिम्मा सरकारले लिने छ ।”

    नेपाली नागरिकको जीवन रक्षाका लागि आफू र मन्त्रालय सधैँ अग्रसर रहेकाले अबका दिनका कसैले पनि पैसा अभावमा उपचार गर्न नपाउँदा गाउँमै थन्किएको छु भन्ने दिनको अन्त्य भएको मन्त्री बस्नेतको भनाइ थियो । उहाँले भन्नुभयो, “नागरिकको स्वास्थ्य सुरक्षाका लागि म र मेरो मन्त्रालय सधैँ अग्रसर छ, म दाबाका साथ भन्छु, पैसा नभएर उपचार रोकिदैन, पैसा नभएर उपचार नपाएका मेरो सम्पर्कमा आउनुहोला, म निःशुल्क उपचार गर्नेछु ।”

    मन्त्री बस्नेतले आर्थिक अवस्था कमजोर भएकाका लागि सरकारी अस्पतालमा निःशुल्क उपचारको थालनी भएपछि बिरामीको चाप बढ्न थालेको बताउनुभयो । उहाँले अस्पताल, फार्मेसी र मेडिकल कलेजलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँमा सुधार आइरहेको समेत जिकिर गर्नुभयो ।

    अस्पतालले १० प्रतिशत निःशुल्क उपचार गराउने प्रबन्धलाई पनि लागू गर्न सफल भएको उहाँको भनाइ छ । यसैगरी मन्त्री बस्नेतले शिक्षा र स्वास्थ्य नागरिकका अधिकार भएकाले स्वास्थ्य सँगसँगै शिक्षालाई पनि निःशुल्क गर्नुपर्ने धारणा राख्नुभयो ।

    उहाँले भन्नुभयो, “बाच्न र पढ्न पाउने नागरिकका नैसङ्र्गिक अधिकार हुन्, कक्षा १२ सम्मको पढाइ निःशुल्क गर्नुपर्छ भन्ने मेरो धारणा हो, यसका लागि म लागिरहेकै पनि छु ।”

    उहाँले शिक्षकले पनि आफ्ना माग पूरा गर्ने नाममा राजनैतिक दलका भातृसंगठन जस्तो आन्दोलन गर्न नहुने तथा सभ्य तरिकाले आफ्ना माग राख्नुपर्ने बताउनुभयो । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend