logo

२०८० फाल्गुन १४ सोमबार

logo
  • सोमबार, १४ फाल्गुन २०८०
  • बजेटको अर्धवार्षिक समीक्षा : सरकारले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झार्यो

    बजेटको अर्धवार्षिक समीक्षा : सरकारले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झार्यो

    624
    Shares
    बजेटको अर्धवार्षिक समीक्षा : सरकारले बजेटको आकार घटाएर १५ खर्ब ३० अर्बमा झार्यो

    काठमाडौं। स्रोत जुटाउन सक्ने अवस्था नआएपछि सरकारले बजेटको लक्ष्य घटाएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै बजेटको आकार घटाएका हुन्। अर्थमन्त्री डा. महतले बिनियोजन गरिएको बजेटको ८७.३८ प्रतिशत मात्रै खर्च हुने जानकारी दिएका छन्।

    चालु आर्थिक वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ। तर, अर्थमन्त्री महतले १५ खर्ब ३० अर्ब २६ करोड रुपैयाँ मात्रै खर्च हुने बताएका छन्। बजेटको आकार २ खर्ब २१ अर्ब घटाइएको छ।

    मन्त्री महतका अनुसार पूँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड विनियोजन गरिएकोमा ८४.१३ प्रतिशत मात्रै खर्च हुने भएको छ। चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ विनियोजन भएकोमा ८८.२४ प्रतिशत मात्रै खर्च हुने संशोधित अनुमान रहेको अर्थमन्त्री महतले जानकारी दिए।

    यसैगरी वित्तीय व्यवस्थातर्फ ३ खर्ब ७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन गरिएकोमा ८७.३९ प्रतिशत मात्र खर्च हुने अनुमान सरकारको छ।

    चालू आर्थिक वर्षमा सरकारले राजस्व संकलन १२ खर्ब ४८ अर्ब ६२ करोड र आन्तरिक ऋण २ खर्ब ४० अर्ब रुपैयाँ उठाउने लक्ष्य लिइएको थियो। यसलाई संशोधन गरेर १३ खर्ब ९ अर्ब ३० करोड ८६ लाख मात्रै उठ्ने संशोधित अनुमान छ।राजस्व लक्ष्यभन्दा धरै कम करिब १० खर्ब ६९ अर्ब मात्रै उठ्न अनुमान अर्थमन्त्री महतको देखिन्छ ।

    यस्तै अनुदानबाट ४९ अर्ब ९४ करोड प्राप्त हुने अनुमान गरिएकोमा अब ४० अर्ब १२ करोड ९ लाख प्राप्त हुने उनले जानकारी दिए। वाह्य ऋण २ खर्ब १२ अर्ब ७५ करोड लिने अनुमान संशोधन गर्दै सरकारले १ खर्ब ८० अर्ब ८३ करोड ६७ लाख रुपैयाँ आउने सरकारको संशोधित अनुमान छ ।

    पहिला महत्वकाँक्षी बजेट ल्याउने र पछि खर्च नहुने अवस्था आएपछि सरकारले आर्थिक वर्षको ६ महिनापछि बजेटको आकार घटाउने गरेको छ। गत आर्थिक वर्षमा पनि बजेटको आकार घटाइएको थियो। बजेटको आकार घटाइए पनि संशोधित अनुमानअनुसार स्रोत व्यवस्थापन र खर्च हुने संभावना कम छ।

    अर्थतन्त्र सुधारका लागि सरकारले चालेका कदमले विस्तारै नतिजा देखाइरहेको भए पनि एकैपटक सुधार सम्भव नरहेको अर्थमन्त्री डा. महतले स्पष्टपारे। न्यून राजस्व सङ्कलन र कमजोर बजेट खर्चको अवस्थामा अहिले पनि कायमै रहेको उनले बताए।

    पुँजीगत खर्च अहिलेसम्म उत्साहजनक नदेखिए पनि अब खर्चको रफ्तार बढ्छ। धेरै नियम कानुन निर्माणका काम अघि बढेका छन्। कार्यविधि बनेर खरिद प्रक्रियामा जान लागेका छन्, अर्थमन्त्री महतले भनृ, गत वर्षको तुलनामा राजस्व बढेको छ। तर, यो सुरुवाति लक्ष्यभन्दा केही कम हो।

    बजेट अर्धवार्षिक समीक्षाको पूर्णपाठ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend