२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

चौधरी ग्रुपको सम्राट सिमेन्टको घाटा ४३ करोड, ऋण साढे १२ अर्ब

आइतवार , फाल्गुण १३, २०८०

काठमाडौं। अर्थतन्त्रमा देखिएको मन्दीको असर सिमेन्ट उद्योगमा परेको छ। यही मन्दीको असर चौधरी ग्रुपले सञ्चालन गरिरहेको सम्राट सिमेन्ट कम्पनी प्रालिको सिमेन्ट व्यापारमा परेको छ। उद्योगको सिमेन्ट व्यापार ३१ प्रतिशत घटेको छ। मागमा आएको कमीले गर्दा गत वर्ष सम्राटले ३ अर्ब ३७ करोड ५० लाख रुपैयाँको मात्र सिमेन्ट व्यापार गरेको छ।

अघिल्लो वर्ष सन् २०२२ मा सम्राटले ४ अर्ब ७५ करोड ५० लाख रुपैयाँ कारोबार गरेको थियो। एक वर्षमा सम्राटको सिमेन्ट व्यापार १ अर्ब ५० करोड रुपैयाँ घटेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा देखिएको छ। एक वर्षमा उद्योग नोक्सान ४३ करोड ३० लाख रुपैयाँ छ। कम मार्जिन र उच्च ब्याजदरका साथै बिक्रीमा आएको कमीले सम्राट नोक्सानमा गएको हो।

२०२१ मा ३ अर्ब ७० करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो। बजारमा सिमेन्टको माग र मूल्य घट्दाको असर सिमेन्ट उद्योगमा परेको हो। उद्योगको क्लिङकर व्यापारमा भारी गिरावट आएको देखिएको छ। २०२२ मा उद्योगले ३ लाख ४२ हजार टन क्लिङकर व्यापार गरेको थियो।

गत वर्ष भारी गिरावट आएर ७१ हजार ५ सय ६८ टनमा छ। सरकारले पनि ठूला पूर्वाधारमा खर्च गर्न नसकेपछि नेपालमा सिमेन्टको माग घटेको उद्योगको भनाई छ। उद्योगले कोइला, फ्लाई ऐस, जिप्सम, माटो, बक्साइट र फलामको प्रमुख कच्चा पदार्थको रूपमा प्रयोग गर्दछ। कच्चा पदार्थमा कोइलाको हिस्सा ७० प्रतिशतसम्म छ। उद्योगले अष्ट्रेलिया, दक्षिण अफ्रिका र भारतबाट कोइला आयात हुने गरेको छ।

उद्योगको १२ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। जसअनुसार १० अर्ब १४ करोड ४७ लाख रुपैयाँ दीर्घकालिन र २ अर्ब ३५ करोड रुपैयाँ ऋण अल्पकालिन ऋण रहेको छ। उद्योगले विस्तारै ऋण घटाउँदै लगेको छ।

सम्राटले सिमेन्ट उत्पादन क्षमता दोब्बर बढाएर दैनिक ३ हजार ६ सय टन पुर्याएको छ। नयाँ प्लान्ट सन् २०२२ जुलाइदेखि सञ्चालनमा आएको छ। यस्तै क्लिङकरको पनि क्षमता बढाएर दैनिक ४ हजार टन पुगेको छ। नयाँ प्लान्ट सन् २०२१ जनवरीदेखि सञ्चालनमा आएको हो।

दाङको सतबरियामा रहेको सम्राट सिमेन्टमा १६ अर्ब रुपैयाँ लगानी भएको थियो । २०७४ सालमा स्थापना भएको सम्राट मुलुकको ठूलो सिमेन्ट उद्योगभित्र पर्छ ।सम्राट सिमेन्टमा जर्मनी प्रविधिको प्रयोग गरिएको छ । उद्योगले अहिले ओपीसी र पीपीसी सिमेन्ट उत्पादन गरिरहेको छ ।

उद्योगले गजराज र गजराज प्रिमियम, बाज, बाज प्रिमियम, बादसाह र सम्राटलगायत सात ब्रान्डको सिमेन्ट उत्पादन भइरहेको छ । करिब ४५ बिघा क्षेत्रफलमा सञ्चालनमा रहेको छ। खानी उद्योग भन्दा ५० किलोमिटर टाढाको दुरीमा छ।

उद्योग सन् २०१३ मा स्थापना भएको हो। सम्राटको अध्यक्ष अनिलकुमार रुंगटा हुन भने चौधरी ग्रुपबाट निर्वाण र वरुण चौधरी उद्योगको सञ्चालक छन्।

मुलुकमा ५५ सिमेन्ट र २० वटा क्लिङकर उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। उद्योगहरुको संख्या बढ्दै गएपछि बजारमा प्रतिस्पर्धा कडा भइरहेको छ। अझै आधा दर्जन सिमेन्ट उद्योगक पाइपलाइनमा छन्।

प्रतिक्रिया
ताजा अपडेट
चर्चित
images
images
ताजा अपडेट