logo

२०८१ बैशाख ९ आइतबार

logo
  • आइतबार, ९ बैशाख २०८१
  • दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाको बीमा खर्च

    दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाको बीमा खर्च

    715
    Shares
    दुर्घटनामा परेका नागरिकलाई गाउँपालिकाको बीमा खर्च

    गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बीमामार्फत उपचार बापतको रकम भुक्तानी गरेको छ। पालिकाभित्रका सबै नागरिककोे निःशुल्क रुपमा सामूहिक दुर्घटना बीमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुई जनालाई रकम भुक्तानी गरेको हो ।

    बीमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बीमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । “खाटमा सुतेका बेला लडेर घाइते भएका वडा नं ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते हुनुभएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचारखर्च उपलब्ध गराएका हौँ”, उनले भने “पालिकाले राष्ट्रिय बीमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन् ।”

    गत असार ३१ गते खाटबाट लडेर घाइते हुनुभएका रेग्मीले उपचारका लागि खर्च भएको रु नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते हुनुभएकी श्रेष्ठले रु तीन हजार तीन सय २५ बीमामार्फत प्राप्तगरेका ।

    पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरिएको अध्यक्ष बन्जराले बताए। राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरिएको उनको भनाइ छ ।

    अध्यक्ष बन्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बीमा पोलिसी अनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले रु ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बीमा गरिदिएको बताए।

    कम्पनीसँगको सम्झौता अनुसार दुर्घटनामा परेका दुवैजना बिमितले पोलिसीको अधिनमा रही सक्कली बिल बुझाएपछि कम्पनीले गाउँपालिकालाई रकम उपलब्ध गराएको कार्यक्रमका फोकलपर्सन जीवन सुर्खेतीले जानकारी दिनुभयो ।उनका अनुसार उक्त रकम पालिकाले बिमितलाई हस्तान्तरण गरेको हो । रासस

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend