
कालाबजारियाले लुकाएर राखेको आठ ट्रक सर्जिकल मास्क प्रहरीले बरामद गरेको छ । काठमाडौं सतुंगलको दुईटा घरमा रहेको गोदामबाट प्रहरीले सो मास्क बरामद गरेको हो ।
ती दुई गोदाममा प्रहरीले आइतबार अपरान्ह सिल गरेको थियो । आज बिहान सिल खोलेर गोदामभित्र हेर्दा आठ लाख ४० हजार मास्क फेला परेको हो ।
महानगरिय प्रहरी परिसरको टोलीले चन्द्रागिरी नगरपालिका १० विष्णुदेवीमा रहेको गोदामबाट ती मास्क बाहिर निकालेको हो । ती मास्क रोहित श्रेष्ठको घरमा रहेको गोदाममा १७५ वटा बोरामा थियो । ती मास्क महानगरीय प्रहरी परिसर टेकु लैजान आठवटा ट्रक चाहिएको थियो ।
चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको रोहवरमा गोदाम खोलेर मास्क बाहिर निकालिएको हो ।
त्यहाँ मास्क लुकाइएको आइतबार थाहा भएको थियो । काठमाडौंको कपनमा एक लाख ६८ हजार थान मास्क सहित अजिम बक मियाँ र सज्जनकुमार रेग्मी पक्राउ परेका थिए । उनीहरुलाई मास्क उपलब्ध गराएका थिए सुरजकुमार गोयल र सुवास महेश्वरीले गोयल र महेश्वरीले । गोयल र महेश्वरी दुवैजना भारतीय भएको जानकारी प्राप्त भएको छ ।
अजिम बक र सज्जनकुमारले उनीहरुसँग मास्क किनेका थिए । बढि नाफा खान पाइन्छ भन्दै प्लाष्टिक पसल चलाउने अजिम बक र फोटो स्टुडियो चलाउने सज्जनकुमारले कालोबजारीमा मास्क किनेका थिए । तर, प्रहरीले उनीहरुलाई फन्दामा पारेको थियो । त्यसपछि प्रहरीले गोयल र महेश्वरीको गोदाम पत्ता लगाएर सिल गरेको थियो ।
बरामद गरिएको मास्क महानगरीय प्रहरी परिसर टेकु लगिएको छ । त्यहिँ लगेर मास्क गणना गरिने भएको छ । प्रहरीले बोरा र डब्बा संख्याका आधारमा निकालेको प्रारम्भिक हिसाब अनुसार आठ लाख ४० हजार मास्क बरामद भएको छ । यो संख्या घटिबढि पनि हुनसक्ने थानकोट वृत्तका डिएसपी घनश्याम श्रेष्ठले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend