
दोलखा — बहुप्रतिक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सोमबारदेखि परीक्षण थालेको छ । सोमबार बिहानदेखि जलाशयुक्त बाँधमा पानीजम्मा गरेर परीक्षण सुरु गरिएको आयोजनाका कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । २०७२ सालको भूकम्पले उक्त बाँधस्थल १७ इन्च भासिएको थियो । त्यहीँबाट परीक्षण थालिएको श्रेष्ठले बताए ।
दोलखाको लामाबगरस्थित ४५६ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण सुरु भएको आठ वर्षपछि परीक्षण थालिएको हो। उठिसकेको बाँधको पश्चिमी भाग केही भासिएपछि आयोजनालाई ठूलो क्षतिहुने अनुमान थियो। पुरै भत्काएर नयाँ बनाउने कि त्यसैलाई मर्मत गर्ने भन्ने दुविधाका बीच अमेरिकी विज्ञहरुको अध्ययनपछि मर्मत गरेर बाँधको काम पूरा गरिएको हो।
आयोजनाद्वारा जारी सूचनाअनुसार करिब एक महिना बाँधभित्र पानी जमाउँदै खोल्दै गरिने छ। उक्त परीक्षणको आधारमा तामाकोसीले विद्युत् उत्पादन गर्ने समय सुनिश्चित गर्छ। आयोजनाले अन्तिम पटक आउने असारसम्ममा ७६ मेगावाट विद्युत् उत्पान गर्ने घोषणा गरेको थियो।
आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार सुरुमा बाँधमा पानी जमाइनेछ। बाँधमा पानी जमाएपछि हरेक ढोकाहरु बन्द गरिनेछ र खोलेर हेरिनेछ। त्यसैगरी बालुवा थिग्र्याउने पोखरी (डिस्याण्डर) मा पनि पानी भरेर हेरिन्छ। यी दुई सफलतापछि सुरुङभित्र पानी पसाउने कार्य थालिन्छ।
बाँध ६० मिटर लम्बाइ र २२ मिटर उचाइको छ। सतहमुनि ७ मिटर र त्यसभन्दा माथि १५ मिटर उचाइ छ। उक्त बाँध परीक्षणको क्रममा तामाकोसी किनारका नागरिकलाई सतर्क रहन आयोजनाले आग्रह गरेको छ। पानी जम्मा गर्दा खोलाको सतह निकै तल झर्छ। ढोका खोल्दा ह्वात्तै पानीको सतह बढ्ने हुँदा दुर्घटना निम्तने सक्ने भएकाले खोला किनारमा नजान सूचना गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजनाको सम्पूर्ण कार्य हालसम्म ९९ दशमलव ४ प्रतिशत सकिएको छ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend