
नेपालमा दोस्रो पटक कोरोना भाइरस ९कोभिड (१९) संक्रमण देखिएका किशोरीसँगै आएको बागलुङ ढोरपाटनका युवाको खोजी थालिएको छ ।
गत चैत्र ४ गते फ्रान्सबाट फर्किएकी १९ वर्षीया किशोरीको आइतबार स्वास्थ्य परीक्षण गर्दा भाइरस पोजेटिभ पाइए पछि उनीसँगै एउटै जहाजमा आएका जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ५ अधिकारीचौरका अजय बिकलाई पनि बिशेष निगरानीमा राख्न पहल थालिएको छ ।
बिक फ्रान्सबाट आएर एक रात काठमाण्डौं बसेर भोलीपल्ट गृह जिल्ला प्रस्थान गरेका थिए । अहिले उनी आफ्नै जन्मगाउँमा रहेका छन् । गाउँ आएका बिक कोरोना संक्रमण भएका किशोरी सँगै आएको खबर पछि गाउँले थप भयभित भएका छन् । घरमा रहेका बिकलाई पैदल यात्रा मार्फत आज बुर्तिबाङ बजारमा ल्याइने ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले बताए । ‘विदेशबाट आएका ती युवा गाउँमै रहेको सुचना आएको छ, यो अवधिमा उनले कतिसँग हात मिलाए, भेटघाट गरे । यो जोखिमपूर्ण बिषय हो’ मेयर नेपालीले भने,‘त्यसैले वडा अध्यक्ष मार्फत अहिले बुर्तिबाङ बजार ल्याउँछौ, त्यसपछि आइसोलेसनमा राखेर परीक्षण, उपचार लगायत अरु प्रक्रिया अघि बढाउने छौ ।’
संक्रमित किशोरीको उपचार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भइरहेको छ । उनीहरु चैत ४ गते कतारको दोहा ट्रान्जिट हुँदै काठमाडौं आएका थिए ।
सरकारले युरोप, पश्चिम एसिया र खाडी क्षेत्रका सबै मुलुकबाट सीधा उडान र जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुलाई आगमनमा ७ चैतदेखि प्रतिबन्ध लगाएको थियो ।तर, त्यसपछि पनि निर्बाध रूपमा विदेशी र नेपाली नागरिक विदेशबाट आएका थिए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend